एजेन्सी । घरेलु टोली जिम्बावेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तानले जित निकालेको छ । आइतबार भएको खेलमा पाकिस्तानले जिम्बावेलाई ९ विकेटले हराएको हो ।
बुलावायोमा घरेलु टोलीले दिएको १९५ रनको लक्ष्य पाकिस्तानले ३६ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा फखर जमानले शतकीय पारी खेले । जमानले १२९ बलमा १६ चौकासहित ११७ रन बनाए । यस्तै इमाम उल हकले ४४ रन जोड्दा बाबर आजमले अविजित २९ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४९ ओभर २ बलमा अलआउट हुँदै १९४ रन जोडेको थियो । जिम्बावेका कप्तान ह्यामिल्टन मुसाकाज्दाले ५९ रनको अर्धशतकीय पारी खेल्दा पिटर मुरले ५० रनको योगदान दिए । यस्तै तरीसै मुसाकाण्डाले २४ रन जोडे । पाकिस्तानका उस्मान खानले ४ तथा हसन अलीले ३ विकेट लिए ।
यो जितसंगै भ्रमणकारी टोली पाकिस्तानले पाँच खेलको एकदिवसीय सिरिजमा २ – ० ले अग्रता बनाएको छ । जिम्बावे भ्रमणमा रहेको पाकिस्तानले यसअघि अष्ट्रेलिया सम्मलित त्रिकोणात्मक टी-ट्वान्टी सिरिज जितेको थियो ।