एजेन्सी । न्युजिल्याण्डले श्रीलंकाविरुद्ध टी-ट्वान्टी सिरिजमा कप्तान केन विलियम्सन र तीब्र गतिका बलर ट्रेण्ड बोल्टलाई विश्राम दिएको छ ।
श्रीलंकाविरुद्धको ३ खेलको सिरिजको लागि न्युजिल्याण्डले घोषणा गरेको १४ सदस्सीय टिममा विलियम्सन र बोल्ट परेका छैनन् । न्युजिल्याण्ड क्रिकेटले पूर्व तयारी अनुसार दुवै खेलाडीलाई विश्राम दिएको जनाएको छ ।
विलियम्सन र बोल्टले श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेष्ट भने खेल्नेछन् । अन्तिम टेष्टपछि विलियम्सन र बोल्ट न्युजिल्याण्ड फर्कने छन् ।
श्रीलंका र न्युजिल्याण्डबीचको दोस्रो टेष्ट बिहिबार कोलम्बोमा सुरु हुनेछ । पहिलो टेष्ट श्रीलंकाले ६ विकेटले जितेको थियो ।
यस्तै टी-ट्वान्टी सिरिज भने सेप्टेम्बर १ बाट सुरु हुनेछ ।
श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजमा न्युजिल्याण्डको कप्तानी टिम साउथीले गर्ने छन् ।