काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुबिना क्षेत्रीले घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने लक्ष्य लिएको बताएकी छिन् ।
सागको बन्द प्रशिक्षणमा रहेकी कप्तान क्षेत्रीले पहिलो पटक टिमले लामो समयको तयारी पाएको बताउँदै घरेलु भूमिमा स्वर्ण जित्ने बताईन् ।
'पहिलो पटक ३ महिनाको क्याम्पमा बस्न पाएका छौं । यसलाई हामी सक्दो सदुपयोग गर्नेछौं,' कप्तान क्षेत्रीले भनिन्, 'अहिले हामी स्वर्ण जित्ने तयारी गरिरहेका छौँ । महिला क्रिकेटबाट सबै जनाले आशा गर्नु भएको छ । हामीले त्यहि अनुसार मेहेनत गरिरहेका छौँ ।'
नेपालमा आयोजना हुने १३ औं साग आगामी मंसिरमा हुँदैछ । साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ । सागका लागि नेपालले गत बुधबारबाट नै तयारी गरिरहेको छ । क्याम्पमा अहिले ३५ जना खेलाडी रहेका छन् ।
यस्तै कप्तान क्षेत्रीले पहिलो पटक घरेलु मैदानमा ठुलो प्रतियोगिता खेल्न लागेको बताउँदै स्वर्ण जित्ने सपना बोकेर अभ्यासका लागि मैदान पस्ने गरेको बताईन् । नेपाली महिला क्रिकेटले अहिलेसम्म घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट खेलेको छैन ।
'मैदान छिर्न साथ हाम्रो आँखामा स्वर्ण हुन्छ । त्यहिँ अनुसार मेहेनत गरिरहेका छौं,' कप्तान क्षेत्रीले थपिन्, 'देशलाई स्वर्ण दिलाएर छाड्ने इच्छा सबैको हुन्छ । हाम्रो लागि मौका र अवसर रहेको छ ।'
कप्तान क्षेत्रीले नेपाली टोलीले अहिले ब्याटिङमा केन्द्रित भएर तयारी गरिरहेको समेत बताईन् ।
त्यस्तै नेपाली टोलीका प्रशिक्षक जगत टमटाले पनि नेपाली महिला टिमले स्वर्ण जित्ने योजनासहित तयारी गरिरहेको बताए ।
'स्वर्ण दिलाउने योजनासहित तयारी गरिरहेका छौँ । खेलाडीहरुले पनि त्यहिँ अनुसार काम र मेहेनत गरिरहेका छौं,' प्रशिक्षक टमटाले भने, 'दोस्रो तेस्रो भन्दा पनि पहिलो हुने लक्ष्य हो । सिधा कुरा हामी च्याम्पियन बन्ने हो ।'