एजेन्सी । भारतीय क्रिकेट टिमको कप्तान विराट कोहलीको सम्मानमा दिल्लीस्थित फिरोजशाह कोट्ला स्टेडियमको एक भागलाई 'विराट कोहली स्ट्यान्ड' नामाकरण गरिने भएको छ ।
दिल्ली जिल्ला क्रिकेट एसोसियसनले आइतबार फिरोजशाह कोट्ला स्टेडियमको एक क्षेत्रलाई 'विराट कोहली स्ट्यान्ड' नामाकरण गर्ने घोषणा गरेको छ । दिल्ली जिल्ला क्रिकेटले कोहलीले अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेको दिन पारेर सो घोषणा गरेको हो ।
कप्तान कोहलीले सन् २००८ को अगष्ट १८ मा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए । कप्तान कोहलीले भारतका लागि ७७ टेष्ट, २३९ एकदिवसीय र ७० टी-ट्वान्टी खेलिसकेका छन् । उनले टेष्टमा ६ हजार ६१३ रन जोड्दा एकदिवसीयमा ११ हजार ५२० र टी-ट्वान्टीमा २ हजार ३६९ रन बनाएका छन् ।
दिल्ली जिल्ला क्रिकेटले आगामी सेप्टेम्बर १२ मा एक कार्यक्रमका बीच 'विराट कोहली स्ट्यान्ड' को औपचारिक घोषणा गर्नेछ । उक्त कार्यक्रममा दिल्ली जिल्ला क्रिकेटले राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुलाई समेत सम्मान गर्ने जनाएको छ ।