काठमाण्डौं । युएईका कप्तान रोहन मुस्ताफाले नेपालमा हुने दोस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्ने भएका छन् ।
बायाँ हाते ब्याट्सम्यान मुस्ताफाले फ्रेन्चाइज टिम काठमाण्डौं किंग्स इलाभेनबाट खेल्ने छन् । काठमाण्डौंले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मुस्ताफालाई क्लबमा अनुबन्धित गरेको जनाएको छ ।
काठमाण्डौंका सीइओ राजजंग थापाले प्रेस विज्ञप्तिमा भनेका छन्, 'मुस्ताफा देब्रे हाते ब्याट्सम्यान र दायाँ हाते बलर हुन् । उनी क्लबका लागि उपयुक्त अलराउन्डर हुन् ।'
काठमाण्डौंले उनलाई दोस्रो विदेशी खेलाडीको रुपमा क्लब भित्राएको हो । यो सिजनको इपिएल क्रिकेटको लागि अनुबन्धित हुने मुस्ताफा दोस्रो विदेशी खेलाडी पनि हुन् । यसअघि काठमाण्डौंले अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) को टेष्ट राष्ट्र आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनलाई क्लबमा भित्राएको थियो ।
मुस्ताफाले यसअघि नेपालको धनगढीमा सम्पन्न धनगढी प्रिमियर लिग क्रिकेट खेलेका थिए । टिम चौराहाबाट खेलेका उनी प्लेयर अफ दि सिरिज बनेका थिए ।
मुस्ताफाले युएईका लागि ५० भन्दा बढी खेल खेलिसकेका छन् ।