एजेन्सी । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो स्पेनीस क्लब रियल मड्रिडपछि इटालियन क्लब नेपोली जान चाहेको खुलासा भएको छ ।
इटालियन च्याम्पियन युभेन्ट्समा हालै आबद्द भएका रोनाल्डो युभेन्ट्समा नभई चिरपरिचित प्रतिद्वन्द्वी क्लब नेपोली जान खोजेको खुलासा भएको हो । रोनाल्डोले युभेन्ट्ससंग सम्झौता गर्नु अघि यो खुलासा भएको हो ।
अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएअनुसार नेपोलीले रोनाल्डोलाई मोटो रकम तिर्न नसक्ने बताएपछि रोनाल्डो युभेन्ट्स गएको बताईएको छ । डेलीमेलका अनुसार रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले प्लान ए अन्तर्गत रोनाल्डोलाई नेपोलीमा अनुबन्ध गराउन पहल गरेका थिए । तर, नेपोलीका अध्यक्ष औरेलियो डी लौरेन्टिसले रोनाल्डोको लागि मोटो रकम खर्च गर्न नसक्ने बताएका थिए ।
रोनाल्डोलाई मोटो रकम तिर्न असफल भएपछि एजेन्ट मेन्डिसले प्लान बि अन्तर्गत युभेन्ट्समा प्रस्ताव लगेका थिए । र, रोनाल्डो भित्राउन युभेन्ट्स मोटो रकम तिर्न राजी भएको थियो । पोर्चुगलका कप्तान रोनाल्डोलाई भित्राउन युभेन्ट्सले १०५ मिलियन पाउण्डमा तिरेको छ ।
युभेन्ट्सले रोनाल्डोलाई आज (सोमबार) सार्वजनिक गर्दै छ । क्लबसंग सम्झौता गर्न रोनाल्डो आइतबार नै इटालीको टुरिन पुगिसकेका छन् । रोनाल्डोलाई क्लबले ७ नम्बरको जर्सी दिने बताइएको छ ।
रोनाल्डोले युभेन्टससंग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार बर्षे सम्झौता गर्ने बताईएको छ ।
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका ३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् ।
रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।