एजेन्सी । भारतले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुन: रबि शास्त्रीलाई नियुक्त गरेको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शास्त्रीलाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
शास्त्री यसअघि सन् २०१७ देखि भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रहेका थिए । इंग्ल्याण्डमा सम्पन्न १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप सकिएसँगै उनको कार्यकाल सकिएको थियो । तर, भारतले वेष्ट इण्डिज भ्रमणलाई लक्षित गर्दै उनको कार्यकाल ४५ दिन थप गरेको थियो ।
भारतीय कप्तान विराट कोहलीले केही दिन अघि मात्र सार्वजनिक रुपमा शास्त्रीलाई पुन: मुख्य प्रशिक्षकको भूमिका दिन सुझाव दिएका थिए ।
भारतले राष्ट्रिय क्रिकेट टिमका लागि आबेदन खुल्ला गरे लगत्तै २ हजार भन्दा बढीले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेको थियो । आवेदन भरेका हरेक व्यक्तिलाई बीसीसीआईको एक कमिटिले अन्तरवार्ता लिएको थियो ।
अब शास्त्री भारतमा आयोजना हुने सन् २०२१ को टी-ट्वान्टीसम्म भारतीय टिमको मुख्य प्रशिक्षकको रुपमा रहने छन् ।