एजेन्सी । इटालियन च्याम्पियन युभेन्ट्सले पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई आज (सोमबार) सार्वजनिक गर्ने भएको छ । युभेन्ट्सले आज अनुबन्ध सम्झौतासहित रोनाल्डोलाई सार्वजनिक गर्ने भएको हो ।
क्लबसंग सम्झौता गर्न रोनाल्डो आइतबार नै इटालीको टुरिन पुगिसकेका छन् । युभेन्ट्सले सामाजिक सन्जाल ट्वीटरमा रोनाल्डोको तस्विर राख्दै लेखेको छ, 'प्रतिक्षा गर्नु होला'।
पोर्चुगलका कप्तान रोनाल्डोलाई यसै साता १०५ मिलियन पाउण्डमा इटालियन क्लब युभेन्टसले क्लबमा भित्राएको हो । रोनाल्डोलाई क्लबले ७ नम्बरको जर्सी दिने बताइएको छ ।
रोनाल्डोले युभेन्टससंग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार बर्षे सम्झौता गर्ने बताईएको छ ।
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोको रियलसंगको अनुबन्ध सम्झौता अझै ३ बर्ष बाँकी रहेको छ । रोनाल्डोले गत सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए ।
३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई पाँच पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।