एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आज (शुक्रबार) क्रिकेट प्रशिक्षकको घोषणा गर्दैछ ।
बीसीसीआईले आज बेलुका ६ उम्मेदवारबाट क्रिकेट टिमको मुख्य प्रशिक्षक घोषणा गर्न लागेको हो ।
भारतीय पुर्व कप्तान कपिल देवको नेतृत्वमा रहेको क्रिकेट सल्लाहकार समितिले तीन उम्मेदवार (माइक हिसन, रोबिन सिंह र रबि शास्त्री)लाई प्रस्तुतिकरणका लागि आज बोलाएको छ ।
सन् २०१७ देखि भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रहेका शास्त्री, श्रीलंकाका पुर्व प्रशिक्षक समेत रहेका सनराजर्स हैदराबादका टम मोड्डी र वेष्ट इण्डिजलाई सन् २०१६ को टी–ट्वान्टी विश्वकप जिताएका फिल सिमन्ससंग चयन कमिटिले अनलाईनमार्फत अन्तिम छनोट गर्नेछ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले प्रशिक्षकको आवेदन खुल्ला गरेसँगै सो पदको लागि २ हजार भन्दा बढिको आवेदन परेकोे थियो ।
हालका मुख्य प्रशिक्षक रहेका रबि शास्त्रीको कार्यकाल १२ औं संस्करणको विश्वकपसँगै सकिएको थियो । तर, भारतले वेष्ट इण्डिज भ्रमणलाई लक्षित गर्दै उनको कार्यकाल ४५ दिन थप गरेको थियो ।
भारतीय कप्तान बिराट कोहलीले केही दिन अघि मात्र सार्वजनीक रुपमा शास्त्रीलाई पुन मुख्य प्रशिक्षकको भूमिका दिन सुझाव दिएका थिए ।