काठमाडौं । क्यानडाको फ्रेन्चाइज क्रिकेट लिग ग्लोबल टी-ट्वान्टीको दोस्रो संस्करण आइतबारबाट सकिएको छ । र, लिगको उपाधि नेपाली अलराउण्डर सोमपाल कामी सम्मिलित टिम विनिपेग हक्सले जितेको छ ।
सिएए क्रिकेट मैदानमा आइतबार राति भएको फाइनलमा पहिलो संस्करणको विजेता भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा पराजित गर्दै हक्स च्याम्पियन बनेको थियो ।
हक्सले उपाधि जितेसँगै सोमपाल फ्रेन्चाइज टी-ट्वान्टीको डेब्यु प्रतियोगितामै उपाधि उचाल्न पाउने भाग्यमानी खेलाडी बने ।
किनकि नेपालका ग्लोबल आइकन लेग स्पिनर सन्दीप लामिछानेले विश्वको अधिकांस फ्रेन्चाइज लिग खेलेपनि उपाधि उचाल्न सकेका छैनन् । सन्दीपले आईपीएल, बिग बास लिग लगायत विश्वभरका ९ फ्रेन्चाइज लिग खेलिसकेका छन् । जसमा उनले बिग बास लिगको एक फाइनल सम्म खेलेका छन् ।
तर, सोमपालले मात्र एक खेल खेलेर उपाधिको हिस्सेदार बनेका छन् । यस्तै सोमपाल विदेशी फ्रेन्चाइज लिग जित्ने पहिलो खेलाडी समेत बने ।
सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेर क्यानडा पुगेका सोमपालले लिगमा एक खेल खेल्ने मौका पाए ।
एड्मोण्टन रोयल्सविरुद्ध सोमपाल प्लेईङ सेटमा पर्दै फ्रेन्चाइज टी-ट्वान्टीमा डेब्यु गरेका थिए । तर, प्रभावकारी प्रदर्शन गर्न नसकेपछि सोमपाल अन्य खेलमा बेञ्चमै स्सिमित भए ।
डेब्यु खेलमा सोमपालले ब्याटिङ र बलिङ गर्ने मौका पाएका थिए । ब्याटिङतर्फ ५ बलमा १ रन बनाउँदा बलिङतर्फ २ ओभरमा विनाविकेटको क्षतिमा ३३ रन खर्चिएका थिए ।
डेब्यु खेलमा सोमपाललाई अन्तराष्ट्रिय फ्रेन्चाइजको अनुभव खड्किएको थियो । डेब्यु लिगमा सुखद नरहेपनि सोमपालले विश्वका हस्ती क्रिकेटरसँग ड्रेसिङ रुम शेयर गर्न पाए । पक्कै पनि नेपाली खेलाडीका लागि यो ठुलो कुरा हो । उनले ग्लोबल टी-ट्वान्टी लिगबाट धेरै कुरा सिकेका छन् ।
ग्लोबल टी-ट्वान्टी क्लब हक्सले सोमपाललाई ११ औं चरणमा ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । र, होक्सले सोमपालबाट खासै ठुलो आशा समेत गरेको थिएन ।
यस्तै सोमपालले पनि डेब्यु लिगबाट ठुलो आशा गरेका थिएनन् । विश्वकप छनोटको कारण सुरुवाती दुई खेल गुमाउने समत पक्का थियो ।
‘सायद सुरुका केही खेल गुमाउनेछु । तर, त्यसपछि टिमको परिस्थति अनुसार टिममा पर्ने आशा गरेको छु,’ सोमपालले ड्राफ्टमा परेपछि भनेका थिए ।
सन्दीपको प्रदर्शन
सन्दीपको टिम टोरन्टो नेसनल्स प्ले अफबाट बाहिरिएको थियो । पहिलो ईलिमिनेटरमा नेसनल्स सोमपालको हक्ससँग डीएल पद्वतिका आधारमा २ रनले पराजित भएको थियो ।
यस सिजन सन्दीपको प्रदर्शन समेत औशत रह्यो । ४ खेलमा सन्दीपले ५ विकेट हात पारे । सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीको १९ औं स्थानमा रहे ।