एजेन्सी । घरेलु टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ । आइतबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई डिएल पद्दतिको आधारमा ५९ रनले पराजित गरेको हो ।
वर्षाले प्रभावित गरेपछि ४६ ओभरमा झारिएको खेलमा वेष्ट इण्डिजले जितका लागि २७० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ४२ ओभरमा अलआउट हुँदै २१० रनमा समेटियो ।
वेष्ट इण्डिजका इभान लेविसले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै निकोलस पुरनले ४२ रन जोड्दा रास्टोन र हिटमायरले समान १८/१८ रन जोडे । वेष्ट इण्डिजका लागि कीर्तिमानी ३ सय एकदिवसीय खेलेका क्रिस गेल ११ रनमा आउट भए ।
वेष्ट इण्डिजलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । यस्तै मोहमद शामी र कुलदिप यादवले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २७९ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १२० रनको शतकीय इनिङ्स खेले ।
शतकसँगै कोहली एकै विपक्षि टिमविरुद्ध ८ भन्दा बढी शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । यस्तै कोहली एकै विपक्षि टिमविरुद्ध कम इनिङ्समा २ हजार रन पुरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । वेष्ट इण्डिजविरुद्ध ३४ इनिङ्समा २ हजार रन पुरा गरेका कोहलीले रोहित शर्माले अष्ट्रेलियाविरुद्ध ३७ खेलमा बानाएको कीर्तिमान तोडेका हुन् ।
त्यस्तै भारतका लागि श्रेयस आयरले ७१ रनको अर्धशतकीय इनिङ्स खेल्दा रिशब पन्तले २० तथा रोहित शर्माले १८ रन बनाए ।
वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले ३ विकेट लिए ।
यो जितसँगै भारतले ३ खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ । दुईबीचको पहिलो खेल नतिजाविहीन सकिएको थियो ।