एजेन्सी । अफगानिस्तानले भारतको लखनाउस्थित इकाना क्रिकेट रंगशालालाई घरेलु मैदानको रुपमा प्रयोग गर्ने भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शुक्रबार अफगानिस्तानलाई घरेलु मैदानको रुपमा इकाना रंगशाला प्रयोग गर्न दिने निर्णय गरेको छ ।
'हामीले औपचारिक रुपमा बीसीसीआईको अनुमति प्राप्त गरेका छौं,' अफगानिस्तान क्रिकेट बोर्डका सीईओ असदुल्ला खानले भने, 'देहरादुनमा पाँच तारे होटल नरहेको कारण अन्तराष्ट्रिय खेल गराउन मुस्किल हुँदै आएको थियो । तर, अब हामीलाई सहज भएको छ ।'
यसअघि अफगानिस्तानले देहरादुनको राजिब गान्धी रंगशालालाई घरेलु मैदानको रुपमा प्रयोग गर्दै आएको थियो ।
अफगानिस्तानले इकाना क्रिकेट रंगशालालाई घरेलु मैदानको रुपमा प्रयोग गर्ने भएपछि भारतले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट खेललाई अन्य स्थानमा सारेको छ । अब भारतले पुने र राँचीमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।