एजेन्सी । 'क्रिकेटका भगवान' उपनाम पाएका भारतका लिजेण्ड क्रिकेटर सचिन तेन्दुलकर विश्वका उत्कृष्ट ब्याट्सम्यान हुन् ।
सचिनले ब्याटिङमा थुप्रै कीर्तिमानहरु बनाएका छन् । सचिनले बनाएको केहि ब्याटिङको कीर्तिमान तोड्न निकै कठिन रहेको छ ।
तर, सचिन जति उत्कृष्ट ब्याटिङ गर्थे त्यतिनै उत्कृष्ट बलर रहेका थिए । सचिन एक अनौठो बलर थिए जसले बल स्विङ गराउने क्षमता राख्दथे । साथै उनले दुवै खाले स्पिन (अफ स्पिन र लेग स्पिन) बलिङ गर्दथे ।
सचिनले ब्याटिङमा थुप्रै कीर्तिमान बनाएको कुरा क्रिकेट प्रेमीलाई अवगत रहेको छ । तर, सचिनले बलिङमा समेत केहि कीर्तिमान बनाएका छन् । जुन निकै कम समर्थकलाई मात्र जानकारी छ ।
सायद धेरैलाई अचम्म लाग्ला तर सचिनले क्रिकेट करियरमा २ सय अन्तराष्ट्रिय विकेट हात पारेका थिए ।
सचिनले बलिङमा बनाएको ३ कीर्तिमान यस प्रकार रहेको छ ।
१. सवार्धिक कम उमेरमा विकेट लिने बलर
सचिनले १६ वर्षको उमेरमा भारतबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । तर, सचिनलाई सुरुवाती विकेट लिन केहि खेल कुर्नु परेको थियो ।
अन्तत्, सन् १९९० डिसेम्बर ५ का दिन श्रीलंकाका रोशन माहानामालाई आउट गर्दै सचिनले पहिलो अन्तराष्ट्रिय विकेट हात पारेका थिए ।
रोशनको विकेट हात पार्दा सचिन मात्र १७ वर्ष २२४ दिनका रहेका थिए । र, सचिन सर्वाधिक कम उमेरमा विकेट लिने भारतीय बलर बनेका थिए । यसअघि स्पिनर महिंदर सिंहको नाममा यस कीर्तिमान रहेको थियो ।
सचिनले उक्त खेलमा अर्जुना रनातुन्गाको विकेट हात पारेका थिए । खेलमा ४१ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेलेका सचिन म्यान अफ द म्याच घोषित भएका थिए ।
२. एकदिवसीयको अन्तिम ओभरमा २ पटक ६ भन्दा कम रन खर्चने बलर
यदि कुनै खेलको अन्तिम ओभरमा १० देखि १२ रन आवश्यक रहेको छ भने ब्याटिङ टिमले जित्ने बलियो सम्भाबना रहन्छ । अझ अन्तिम ओभरमा बल बराबरको रन आवश्यक रहेको अवस्थामा त खेल ब्याटिङ टिमले नै जित्ने गर्छन् ।
अन्तिम ओभरमा १० देखि १२ रन दिइएको रेकर्ड कमै मात्र भेटिन्छ । तर, सचिनले यसमा २ पटक सफलता हात पारेका छन् । २ फरक खेलको अन्तिम ओभरमा ६ रन भन्दा कम खर्चने बलर सचिन एक्ला खेलाडी हुन् ।
सन् १९९३ मा सचिनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा अन्तिम ओभरमा ३ रन खर्चदै भारतलाई जित दिलाएका थिए । यस्तै सन् १९९७ मा पुन: सचिनले अष्ट्रेलियाविरुद्धको खेलमा पहिलो बलमा विकेट हात पार्दै अष्ट्रेलियालाई आउट पारेका थिए ।
३. एसिया कपमा सर्वाधिक विकेट लिने भारतीय स्पिनर
सचिनसँग खेलाडीको साझेदारी तोड्ने उत्कृष्ट क्षमता रहेको थियो । सचिनको बलिङमा नराम्रो पक्ष भनेको स्थिर बलिङ गर्न नसक्नु थियो । तर, सन् २००४ को एसिया कपमा भने उनले आफुलाई प्रमाणित गर्न सफल भए ।
बहुप्रतिभाशाली खेलाडी सचिनले सो प्रतियोगितामा ६ खेलमा १२ विकेट हात पारेका थिए । उनले बलिङ गर्न पाएको सबै ५ इनिङ्समा कम्तिमा १ विकेट हात पारेका थिए । त्यससँगै सचिनले एसिया कपमा सर्वाधिक विकेट लिने भारतीय स्पिनरको कीर्तिमान बनाएका थिए ।
उक्त प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सचिन दोस्रो स्थानमा रहेका थिए । सचिन भन्दा अघि भारतका इरफान पठानले १४ विकेट हात पारेका थिए । सचिनले प्रतियोगितामा २ सय ८१ रन बनाउँदै भारतलाई फाइनलसम्म पुर्याएका थिए । फाइनलमा भारत श्रीलंकासँग पराजित भएको थियो ।