एजेन्सी । भारतको चर्चित फ्रेन्चाइज लिग इण्डियन प्रिमिएर लिग (आईपीएल) टिम किंग्स इलेभेन पन्जाबका प्रशिक्षक माइक हिसनले पदबाट राजीनामा दिएका छन् ।
न्युजिल्याण्डका हिसनले बिहिबार प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् । हिसनको राजीनामा पन्जाबले स्वीकृत गरेको छ ।
प्रशिक्षक हिसनले सामाजिक संजाल ट्वीट्वरमा समेत आफुले क्लब छाडेको बताएका छन् ।
'मैले आफ्नो काम राम्रोसँग निभाए र मेरो कार्यकालका लागि टिमलाई धन्यबाद । तर, पनि गत सिजन हामीले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा निराश छु,' हिसनले लेखेका छन्, 'सफलता धेरै टाढा छैन, आगामी दिनका लागि शुभकामना ।'
हिसन अष्ट्रेलियाका ब्राड हगलाई विस्थापित गर्दै सन् २०१८ को अक्टोबरमा पन्जाबको टिममा आबद्द भएका थिए । पन्जाबले गत संस्करणको आईपीएलमा १४ खेलमा ६ खेलमा जित हात पार्दा छैठौं स्थानमा रहेको थियो ।
हिसनले सन् २०१२ देखि २०१८ सम्म नुजिल्याण्ड राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा समेत काम गरेका थिए ।
उनी न्युजिल्याण्डका सर्वाधिक सफल प्रशिक्षकको रुपमा मानिन्छन् । उनको प्रशिक्षनमा रहेको किवीज टोलीले सन् २०१५ संस्करणको एकदिवसीय विश्वकपको फाइनल खेलेको थियो ।