काठमाडौं । श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कप क्रिकेटको अन्तिम तयारी गर्न नेपाली यू-१९ क्रिकेट टिम भदौ पहिलो साता श्रीलंका जाने भएका छन् ।
एसिया कपका लागि नेपाली टिम प्रतियोगिता सुरु हुनु भन्दा एक हप्ता अगाडी श्रीलंका जाने छन् । त्यसअघि नेपालले टियु क्रिकेट मैदानमा प्रशिक्षण गर्नेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले श्रीलंकामा एक साताको प्रशिक्षणका लागि एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अनुमति दिएको र नेपाली टिम भदौ ७ गते श्रीलंका जाने जानकारी गराए ।
'हामी सोमबारबाट नेपालमै औपचारिक रुपमा तयारी गर्नेछौँ । भदौ ७ गते श्रीलंका जाने कार्यक्रम छ । एक हप्ता पहिले श्रीलंका जानु हामीलाई अनुमति मिलेको छ,' प्रशिक्षक दासले भने, 'यसबारे एसीसीले लिखित रुपमा पठाइसकेको छ ।'
एसीसीले नेपाललाई सोमबारबाट औपचारिक रुपमा प्रशिक्षणको अनुमति दिएपनि नेपालले बिहिबारबाट तयारी सुरु गरेको छ । एसीसीले तयारीका लागि अनुमति नदिदा र टियु क्रिकेट मैदान प्रशिक्षणका लागि योग्य नहुँदा नेपालको तयारी ढिला भएको हो ।
नेपालको क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि क्रिकेट गतिविधि गर्नु परेमा नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसीसीबाट अनुमति लिनुपर्छ ।
एसिया कप भदौ १५ देखि २९ गतेसम्म हुनेछ । एसिया कपमा नेपालसँगै भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल गत महिना मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।