काठमाडौं । एसीसी यू-१९ एसिया कपका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले प्रशिक्षण सुरु गरेको छ ।
श्रीलंकामा आयोजना हुने एसिया कपका लागि नेपालले बिहिबारबाट टियु क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको हो ।
प्रतियोगिताको मिति नजिकिए पनि नेपालले तयारी ढिला सुरु गरेको हो । प्रतियोगिता आगामी सेप्टेम्बर ३ देखि १५ सम्म आयोजना हुनेछ ।
टियु क्रिकेट मैदान अभ्यास गर्न योग्य नहुदा नेपालको तयारी प्रभावित बनेको थियो । यस्तै एसियन क्रिकेट काउन्सिल र अन्तराष्ट्रिय क्रिकेट परिषदले वैदेशिक तयारीका लागि अनुमति नदिएपछि नेपालले घरेलु भूमिमै तयारी सुरु गरेको हो ।
एसिया कपमा भारतसँगै नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल गत महिना मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।