काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटमा खेलाडीहरु आन्दोलित भएका छन् । खेलाडीले पुरा पैसा नपाएपछि खेलाडीहरु आन्दोलित भएका छन् ।
आयोजकले पुरा रकम नदिएपछि टोरन्टो नेसनल्स र मोन्टरियल टाइगर्सका खेलाडी आन्दोलित भएका हुन् । टोरन्टो र मोन्टरियलका खेलाडीहरु सिएए क्रिकेट मैदान जान मानेका छैनन् ।
क्रिकेट वेबसाइड इएसक्रिकइन्फोका पत्रकार पिटर डेला पेनाले खेलाडी लिन बस होटल पुगेपनि खेलाडीले होटल नछाडेको ट्वीट गरेका छन् ।
खेलाडीले होटल छाड्न नमानेपछि टोरन्टो र मोन्टरियलबीचको खेल हुने नहुने अन्योल बनेको छ । खेल सुरु हुने समय सकिएपनि खेलाडीहरु मैदान पुगेका छैनन् । दुई टोलीबीचको खेलको टस समेत भएको छैन ।
तर, ग्लोबल टी–ट्वान्टीले भने प्राविधिक कारण खेल ढिला सुरु हुने जनाएको छ ।
टोरन्टोबाट नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खेलिरहेका छन् । आज प्ले अफमा पुग्न दुवै टोलीलाई जित्नै पर्ने बाध्यता रहेको छ ।
सन्दीपको टिम टोरन्टो ५ खेलबाट ४ अंक जोडेर पाँचौ स्थानमा छ । टाइगर्स ५ खेलबाट ५ अंक जोडेर चौंथो स्थानमा छ ।
टाइगर्सविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ । तर, अघिल्ला दुई खेलमा सन्दीपले २ विकेट मात्र लिएका छन् ।