एजेन्सी । पाकिस्तानका ब्याट्सम्यान उमर अकमलले क्यानडामा जारी दोस्रो संस्करणको ग्लोबल टी-ट्वान्टी क्रिकेटमा आफुलाई आफ्नै क्लबका पदाधिकारीले 'म्याच फिक्सिङ' गर्न आग्रह गरेको आरोप लगाएका छन् ।
विनेपेग होक्सबाट ग्लोबल टी-ट्वान्टी क्रिकेट लिग खेलिरहेका अकमलले आफ्नै टिमसँग आबद्द रहेका अफिसियल मन्सुर अख्तरले म्याच फिक्सिङ गर्न आग्रह गरेको बताएका छन् । अख्तर पाकिस्तानकै पूर्व खेलाडी हुन् । अख्तरले पाकिस्तानका लागि १९ टेष्ट र ४१ एकदिवसीय खेल खेलेका छन् ।
पाकिस्तानका पूर्व क्रिकेटर अख्तरले म्याच फिक्सिङ गर्न आग्रह गरेपनि अकमलले त्यसलाई नकारेका थिए । यस्तै अकमलले यस विषयमा पाकिस्तान क्रिकेट बोर्ड र लिग म्यानेजमेन्टमा रिपोर्ट गरेका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले अकमलले गरेको रिपोर्ट प्राप्त भएको पुष्टि गरेको छ । यस विषयमा अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एन्टी करप्सन अफिसियलले छानबिन गर्न थालेको छ ।
अकमल रहेको टिम होक्समा नेपालका अलराउण्डर सोमपाल कामी समेत रहेका छन् । उनी फ्रेन्चाइज लिग खेल्ने नेपालका दोस्रो खेलाडी हुन् । उनले ग्लोबल टी-ट्वान्टीमा डेब्यु गरिसकेका छन् ।