काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका ३ खेलाडी अटाएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका हुन् । नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् ।
वरियताको अलराउण्डरतर्फ कप्तान पारस २५ औं स्थानमा रहेका छन् । ९० अंक पाएका कप्तान पारसको यो करियरकै ठुलो वरियता हो ।
कप्तान पारस अलराउण्डरमा अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डय, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेष्ट इण्डिजका आन्द्रे रसेल, इंग्ल्याण्डका बेन स्टोक्स भन्दा भन्दा अघि रहेका छन् ।
यस्तै अलराउण्डरतर्फ ४९ अंक पाएका नेपालका सोमपाल ६६ औं स्थानमा रहेका छन् ।
यस्तै कप्तान पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् । ब्याटिङतर्फ हालसम्मकै उच्च वरियतामा उकिलियेका पारस ६६ औं स्थानमा रहेका छन् ।
बलिङको वरियतामा सोमपाल र बसन्त अटाएका छन् । ४११ अंक पाएका सोमपाल यथावत रहदै ७८ औं स्थानमा छन् । यस्तै बसन्त ७१ औं स्थानमा रहेका छन् । बसन्तको वरियता घटेको हो ।