काठमाडौं । क्यानाडामा जारी दोस्रो संस्करणको ग्लोबल टी-ट्वान्टी क्रिकेट लिगमा आज (मंगलबार) राति नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामी सम्मिलित विनिपेग होक्सले प्रतिस्पर्धा गर्दैछ ।
ब्राम्प्टनस्थित सीएए मैदानमा होक्सले पाँचौं खेलको रुपमा भ्यानकुभर नाइट्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राती २:१५ बजे सुरु हुनेछ ।
सोमपालको टिम होक्सलाई अघिल्लो चरण प्रवेशका लागि जितको विकल्प छैन । ५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोडेको होक्स समूहको पुछारबाट दोस्रो स्थानमा रहेको छ । भ्यानकुभर ५ खेलमा ३ जितका साथ ६ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
होक्स र भ्यानकुभरबीच हालसम्म ३ पटक भेट भएको छ । जसमा होक्सले २ खेलमा जित हात पारेको छ ।
बलियो टोलीविरुद्ध सोमपाल प्लेईङ सेटमा पर्ने नपर्ने तय भएको छैन । एडमोन्टन रोयल्सविरुद्व डेब्यु गरेका सोमपालले डेब्यु खेलमा भने ब्याटिङ र बलिङ गर्ने अवसर पाएका थिए । तर, उनले डेब्यु खेलमा खासै प्रभाव जमाउन सकेनन् ।
रोयल्सविरुद्व सोमपाल आठौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । उनले ५ बल खेल्दै १ रनमात्र बनाउन सके । यस्तै दुई ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएर विकेट विहिन बनेका थिए ।