काठमाडौं । अष्ट्रेलियामा व्यावसायिक फुटबल खेलिरहेका मिडफिल्डर जगजित श्रेष्ठ राष्ट्रिय टोलीमा सहभागी हुन नेपाल फर्किएका छन् । साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा सहभागी हुन जगजित नेपाल फर्किएका हुन् ।
मिडफिल्डर जगजित आइतबारबाट बन्द प्रशिक्षणमा सामेल भएका छन् । नेपाली टोलीका सहायक प्रशिक्षक बालगोपाल महर्जनले जगजित साफ गेम्सको लागि नेपाल आएको जानकारी गराए । प्रशिक्षक महर्जनले खेलपाटीलाई भने, 'जगजित आइतबारबाट क्लोज क्याम्पमा आएका छन् । साफ च्याम्पियनसिपकालागि उनी नेपाल आएका हुन् ।'
साफ च्याम्पियनसिप आगामी सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशको ढाकामा सञ्चालन हुनेछ । जगजितले पछिल्लो पटक एएफसी एसियन कप छनौट अन्तर्गत कार्तिकमा भएको फिलिपिन्सविरुद्धको खेलका लागि नेपाली टोलीमा स्थान बनाएका थिए ।
जगजित अहिले अष्ट्रेलियाको प्रेष्टोन लायन फुटबल क्लबबाट खेल्ने गर्छन् । त्यसअघि उनले नुनावाडिङ्ग सिटी एफसीबाट खेलेका थिए ।