काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि घरेलु क्रिकेट गतिविधि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) काे रेखदेखमा छ । कुनै पनि प्रतियोगिताको तयारी र खेलाडी छनोटसम्म आईसीसीकै अनुमती चाहिन्छ ।
प्रतियोगिता तयारीका लागि पत्र पठाउँदा आईसीसीले निकै ढिलो गरि अनुमती दिने गरेको तितो यथार्थ खेलाडीले भोग्दै आएका छन् । जसले गर्दा प्रतियोगिताको तयारी प्रभावित हुने गरेको छ ।
क्यान निलम्बनपछि घरेलु क्रिकेट अभिभावक विहिन जस्तै रह्यो । प्रतियोगिता प्रभावित बने । आधिकारिक निकाय नहुदाँ समस्या सुनुवाई गर्ने कुनै निकाय रहेन ।
क्रिकेट निलम्बनको अवस्थामा नीजि क्षेत्रबाट केही प्रतियोगिता आयोजना गरिए । फ्रेन्चाईज क्रिकेट त्यसैको गतिलो उदाहरण हो । नीजि क्षेत्रमा आयोजना गरिएको प्रतियोगिताको संख्यामा वृद्वि भएपनि त्यसको गुणस्तरमा कसैको ध्यान गएन ।
नेपालमा आयोजना हुने केही सिमित प्रतियोगिताले बाहेक अन्यले खेलाडीको हितमा काम गरेको देखिएको छैन । क्रिकेटको अभिभावक नरहेको अवस्थामा गुणस्तर पुगेन भनेर कारवाही गर्ने निकाय समेत रहेन ।
घरेलु क्रिकेटका प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडीलाई बोलाएर अन्तराष्ट्रिय प्रतियोगिताको लागि छनोट गर्ने विकल्प नेपालले अवलम्बन गर्दै आएको छ । सिधै प्रतियोगिता खेल्नु पर्ने भएकाले नेपालले नयाँ युवा खेलाडीलाई विश्वास गर्ने अवस्था समेत रहेन ।
घरेलु क्रिकेट र अन्तराष्ट्रिय प्रतियोगितामा धेरै भिन्नता छ । फलस्वरुप केही युवा खेलाडीलाई समावेश गर्दै अनुभवी खेलाडी बोकेर अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुनु नेपालको नियती हो ।
क्रिकेट निलम्बनमा परेपछि नेपालले खेल्न अन्तराष्ट्रिय खेल समेत सिमित हुन्छन् । यस्तो अवस्थामा नेपालले प्रतियोगितामा दोस्रो मौका पाउने सम्भावना समेत कम हुन्छ । यस्तो अवस्थामा नेपाललाई जोखिम उठाउने अवसर समेत रहदैन ।
ठुला प्रतियोगितामा नयाँ युवा खेलाडीलाई मौका दिन उचित मानिदैन । नयाँ खेलाडीलाई ठुला प्रतियोगिताका लागि विस्तारै तयार गर्दै लैजाने हो ।
कुनैपनि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएपछि हरेक देशको लक्ष्य उपाधि उचाल्नेनै रहन्छ । नयाँ खेलाडीको परिक्षण गर्ने र युवा खेलाडीलाई मौका दिने भनेको अन्तराष्ट्रिय अभ्यास सिरिजमा मात्रै हो । जहाँ अनुभवीलाई विश्राम र नयाँ खेलाडीको परिक्षण हुने गर्छ ।
उदाहरणका लागि हालै सकिएको १२ औं संस्करणको एक दिवसीय विश्वकपमा भारतले युवा खेलाडीलाई कुनै मौका दिएको थिएन ।
उसको टोलीमा कम अन्तराष्ट्रिय खेलको अनुभब भएका विजय शंकर थिए, जसको विश्वकप अघि ८ अन्तराष्ट्रिय एक दिवसीय खेलेका थिए । यस बाहेक अन्य सबै खेलाडीले कम्तिमा ३ बर्षदेखि राष्ट्रिय टोलीबाट अन्तराष्ट्रिय क्रिकेट खेल्दै आएका थिए ।
विश्वकप लगत्तै भारतीय टिम वेष्ट इण्डिज भ्रमणमा निस्किएको छ । भ्रमणकारी टिम भारतले टी ट्वान्टी, एक दिवसीय र टेष्ट सिरिज खेल्नेछ । भ्रमणमा भारतीय टिमले युवा र नयाँ खेलाडीलाई मौका दिएको छ । यस्ता भ्रमणमा भारतले युवा खेलाडीलाईनै प्राथमिकता दिने गरेको छ ।
तर टेष्ट सिरिजमा भने उसले पुन अनुभवी खेलाडीलाई समावेश गरेको छ । किनकी टेष्ट सिरिज विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत आयोजना हुन्छ ।
नेपालले समेत युवा खेलाडीलाई अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा परिक्षण गर्दै विस्तारै आधिकारिक प्रतियोगिताका लागि तयार गर्नु पर्ने हो । तर बिडम्बना हामीले बिरलै अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा मौका पाउने गरेका छौं ।
क्यान निलम्बनपछि नेपालले हालसम्म मात्र ४ अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिज खेलेको छ । जसमा २ टी ट्वान्टी र २ एक दिवसीय सिरिज रहेको छ ।
यस बाहेक नेपालले सधैं मुख्य प्रतियोगितामा सहभागीता जनाउँदै आएको छ । ३ बर्षको अन्तरमा ४ मैत्रीपूर्ण सिरिज खेल्नु आफैमा लज्जाको कुरा हो ।
नेपालले खेलेको मैत्रीपूर्ण सिरिजमा पनि युवा खेलाडीको राम्रो उपस्तिथी रहेको थियो । जसमा अबिनास बोहरा, सन्दीप जोरा, अनिल शाह, आरिफ शेख, रोहित पौडेल जस्ता युवा खेलाडीले डेब्यु गरेका थिए । सोही खेलमा युवा खेलाडी रोहित र सन्दीपले विश्व कीर्तिमान समेत बनाएका थिए ।
मैत्रीपूर्ण खेलकै प्रर्दशनका आधारमा अन्तराष्ट्रिय प्रतियोगितामा नयाँ खेलाडीले मौका पाउने गर्छन । त्यसैले त्यस प्रकारको खेल नहुँदा नयाँ खेलाडीले कम मौका पाउने निश्चित देखिन्छ । किनकि नेपालले बर्षको धेरैमा ३-४ वटा अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने गरेको छ ।
जब प्रतियोगिता नेपालको नतिजा खराब निस्कन्छ । धेरै क्रिकेट समर्थकले युवा खेलाडीलाई मौका नदिएको गुनासो गर्ने गर्छन् । तर घरेलु प्रतियोगिताको प्रर्दशनलाई आधार मानेर अन्तराष्ट्रिय प्रतियोगितामा नयाँ खेलाडीलाई मौका दिने जोखिम कमैले उठाउछन् । तर अन्तराष्ट्रिय खेलको अनुभव नभएको खेलाडीले ठुला प्रतियोगितामा खेल्न सक्दैनन् भने होईन् ।
मुख्य प्रतियोगिता खेल्नु अघि अन्तराष्ट्रिय खेलको अनुभब र स्थिर प्रदर्शनको मुल्यांकन प्रशिक्षक र कप्तानले गर्ने गर्छन् । त्यसो गर्न आवश्यक पनि छ । किनकी खेल बिग्रिएको अवस्थामा धेरै प्रश्न उनीहरुमाथि तेर्सने गर्दछ ।
युवा खेलाडीलाई कसरी प्राथामिकता दिने ?
यसको एक मात्र उपाय भनेको धेरै भन्दा धेरै अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी जनाउनुनै हो । नेपालले जति धेरै अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्छ, त्यति धेरै नयाँ खेलाडीको परिक्षण हुन्छ । तर क्रिकेटको आधिकारिक निकाय क्यानको निलम्बन फुकुवा नभएसम्म त्यो सम्भाव देखिदैन ।
अन्तराष्ट्रिय एक्सपोजरको अभावमा सिनियर टिममा कमैमात्र नयाँ खेलाडी भित्रने गरेका छन् । सिनियर खेलाडीको फर्म बिग्रदा यु–१९ टिमबाट खेलाडी छनोट गर्नुपर्ने बाध्यता छ ।
सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, पवन सर्राफ जस्ता खेलाडी यू–१९ टिमबाटै राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।