धनगढी । चौथौ संस्करणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिता कात्तिक दोस्रो साताबाट आयोजना हुने भएको छ ।
आयोजक संस्कार क्रिकेट एकेडेमीले सोमबार पत्रकार सम्मेलन गर्दै एलपीएल क्रिकेट कात्तिक १६ देखि ३० गतेसम्म सञ्चालन हुने जनाएको छ ।
प्रतियोगितामा कैलाली, कञ्चनपुर, बाँके काठमाण्डौं, भक्तपुर लगायतका जिल्लाका गरी १३ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।
विद्यालय स्तरीय प्रतियोगितामा कक्षा १० सम्म पढ्ने १० जना खेलाडी र चार जना नेपालका १९ वर्षमुनिका खेलाडी अनिवार्य रुपमा समावेश गराउनु पर्ने जनाइएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।
संघीय प्रहरी इकाईको मैदानमा हुने प्रतियोगिताको विजेता टिमले नगद दुई लाख र उपविजेता टिमले नगद एक लाख रुपैयाँ सहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।