एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिपलाई मध्य नजर गर्दै भारतले राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षकको खोजि सुरु गरेको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले प्रशिक्षकको आवेदन खुल्ला गरेसँगै उक्त पदको लागि २ हजार भन्दा बढिको आवेदन परेको बताएको छ ।
हालका मुख्य प्रशिक्षक रहेका रबि शास्त्रीको कार्यकाल १२ औं संस्करणको विश्वकपसँगै सकिएको थियो । तर, भारतले वेष्ट इण्डिज भ्रमणलाई मध्ये नजर गर्दै उनको कार्यकाल ४५ दिनको थप गरेको थियो ।
भारतको प्रशिक्षकका लागि आवेदन दिनेमा विश्वका ठुला नाम समावेश छ । भारतका अनिल कुम्बले, रबिन सिंह, टम मोडी, महेला जयवर्दने, ग्यारी क्रिस्टिन, मिचेल हेस्सन, स्टेफिन फ्लेमिङ जस्ता खेलाडी रहेका छन् ।
भारतको मुख्य प्रशिक्षक बन्न सक्ने दाबेदार ३ प्रशिक्षकको चर्चा तल गरिएको छ ।
१. ग्यारी क्रिस्टिन
भारतले सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दा ग्यारी प्रशिक्षक थिए । ग्यारीको आवेदनसँगै भारतीय टिमको प्रशिक्षकमा उनी फर्कने सम्भावना रहेको छ ।
दक्षिण अफ्रिका पूर्व खेलाडी समेत रहेका उनले भारतको प्रशिक्षक छाडेपछि २ वर्ष दक्षिण अफ्रिकाको टिम हेरेका थिए ।
यस्तै ग्यारीसँग इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली डेयरडेभिल्स, रोयल च्यालेंजर्स बैंगलोर तथा अष्ट्रेलियाको होबार्ट हुरिकेन्सजस्ता टिममा सफल प्रशिक्षकको रुपमा काम गरेको अनुभब रहेको छ ।
२. टम मोडी
अष्ट्रेलियाले सन् १९८७ र १९९९ को एकदिवसीय विश्वकप जित्दा टम खेलाडीका रुपमा टिममा रहेका थिए ।
प्रशिक्षक भूमिकामा पनि टम सफल भए । उनले सन् २००५ मा श्रीलंकाको टिम सम्हालेका थिए । उनले सन् २००७ को विश्वकपमा श्रीलंकालाई फाइनलसम्म पुर्याएका थिए ।
भारतको बहुचर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनले सनराइजर्स हैदराबादलाई सन् २०१६ को उपाधि दिलाएका थिए । मोडीसँग १० वर्ष प्रशिक्षकको भूमिकामा काम गरेको अनुभव रहेको छ । त्यसैले उनलाई भारतीय प्रशिक्षकको प्रबल दाबेदारीको रुपमा हेरिएको छ ।
३. माइक हिसन
हिसनले ६ वर्ष न्युजिल्याण्डको मुख्य प्रशिक्षक रहेर काम गरिसकेका छन् । सन् २०१५ को विश्वकपमा उनले न्युजिल्याण्डलाई फाइनल पुर्याएका थिए ।
रोस टेलरलाई कप्तानीबाट निकाल्दै ब्रेण्डन म्याकलमलाई कप्तानीको सिफारिस गर्दा भने उनको ठुलो आलोचना भएको थियो ।
हिसनसँग सम्भावना बोकेका तर मौका नपाएका खेलाडीको खोजी गर्न सक्ने क्षमता रहेको छ । साथै खेलको राम्रो विश्लेषण गर्न सक्ने प्रतिभा हिसनसँग रहेको छ ।