एजेन्सी । इंग्ल्यान्डका पुर्व कप्तान वायन रुनीले अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडमा डेब्यु गरेका छन् । आइतबार बिहान भ्यानकुभर ह्वाइटक्याप्सविरुद्ध मैदान उत्रदै रुनीले क्लबमा डेब्यु गरेका हुन् ।
रुनीको डेब्यु खेलमा डीसीले भ्यानकुभरलाई ३ – १ ले हराएको छ । डीसीको जितमा पाउल अरिओलाले दुई गोल गरेका थिए भने यामील असादले एक गोल गरेका थिए । भ्यानकुभरका अल्फान्सो डेभिसले एक गोल फर्काए ।
रुनीले सब्सिच्युड खेलाडीको रुपमा डीसीमा डेब्यु गरेपनि प्रेरणादायी प्रदर्शन गरेका थिए । खेलको ५८ औं मिनेटमा मैदान प्रवेश गरेका रूनीले एक गोलको लागि पास उपलब्ध गराईदिएका थिए । उनले अरिओलाको दोस्रो गोलमा पास उपलब्ध गराएका थिए ।
लिगमा रुनीको टिम डीसी १५ खेलबाट १४ अंक जोडेर २२ औं स्थानमा छ ।
म्यानचेस्टर युनाइटेडका पुर्व कप्तान समेत रहेका रुनी एभर्टनबाट गत साता डीसी युनाइटेडमा अनुबन्धित भएका थिए । लामो समय म्यानचेस्टर युनाइटेडमा बिताएका रुनी गत सिजन बाल्यकालको क्लब एभर्टन गएका थिए । सन् २००४ मा म्यानचेस्टर युनाइटेड आएका रुनीले युनाइटेडबाट १३ सिजन खेल्दै ५ प्रिमियर लिग र एक च्याम्पियन्स लिग जितेका थिए ।
पछिल्लो समय युनाइटेडमा पर्न छाडेपछि रुनी एभर्टन गएका थिए । यो सिजन रुनीले एभर्टनबाट ११ गोल समेत गरेका थिए । एभर्टन पनि पहिलो रोजाईमा नपरेपछि रुनीले अमेरिकन लिग रोजेका हुन् ।