एजेन्सी । भारतीय लेजेण्ड क्रिकेटर शौरभ गांगुलीले भारतीय क्रिकेट टिमको प्रशिक्षक बन्न आफु इच्छुक रहेको बताएका छन् ।
भारतको न्युज एजेन्सी पीटीआईसँग कुरा गर्दै गांगुलीले आफु प्रशिक्षक बन्न तयार रहेको बताएका हुन् । तर, गांगुलीले आफु अहिले विभिन्न क्षेत्रसँग आबद्द रहेको कारण तत्काल प्रशिक्षक बन्ने सम्भावना भने रहेको बताए ।
'निश्चय पनि म यसमा इच्छुक छु तर अहिले नै भने हैन । मेरो आवेदनका लागि अब एक चरण पर्खनुहोस,' गांगुलीले भने, 'हाल म आईपीएल, क्रिकेट एसोसियसन अफ बङ्गाल, टिभी कमेट्री जस्ता पक्षसंग जोडिएको छु । पहिले मलाई यो सबै सक्नु दिनुहोस, मेरो पालो पनि आउने छ । म इच्छुक छु तर भबिष्यमा ।'
भारतीय क्रिकेट बोर्डले पछिल्लो समय मुख्य प्रशिक्षक खोजिरहेको बेला गांगुलीको यस भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भारतको मुख्य प्रशिक्षकका लागि हालसम्म अहिलेका प्रशिक्षक रबी शास्त्रीसहित करिब २ हजार भन्दा बढिले आवेदन दिएको बताईएको छ ।
यस्तै गांगुलीले अहिले भारतले वेष्ट इण्डिज भ्रमणलाई बढी प्राथमिकता दिनु पर्ने बताए ।
'वेष्ट इण्डिजको भूमिमा उसलाई चुनौती दिनु सानो कुरा हैन,' गांगुलीले थपे, 'उनीहरुको लागि टी-ट्वान्टी मन पर्ने फर्म्याट हो । उनीहरु टी-ट्वान्टी विश्वकप विजेता समेत हुन् ।'