एजेन्सी । इन्ग्लिश क्लब एभर्टनले मैत्रीपूर्ण क्लब फुटबलमा शनिबार राति कीर्तिमानी गोलको जित निकालेको छ ।
इन्ग्लिश प्रिमियर लिग अघिको प्रि सिजन तयारीमा रहेको एभर्टनले मैत्रीपूर्ण खेलमा अष्ट्रियाको एटिभी इर्डनिङलाई २२ – ० गोल अन्तरले हराएको हो । प्रशिक्षक मार्को सिल्भालाई क्लबमा भित्राएपछि पहिलो खेलमा एभर्टनले फराकिलो जित निकालेको हो ।
इर्डनिङविरुद्ध फराकिलो जित निकाल्ने क्रममा एभर्टनका चार खेलाडीले ह्याट्रिक गरेका थिए । र, एभर्टनले पहिलो हाफमै १० गोल गरेको थियो ।
एभर्टनका लागि केभिन मिरालासले पाँच गोल गर्दा बाए ओउमार निअस्से र सेन्क तोसुनले समान चार चार गोल गरे । यस्तै अडेमोला लुकम्यानले तीन गोल गरेका थिए ।
एभर्टनले निकालेको यो जित अहिलेसम्मकै फराकिलो जित हो । यसअघि एभर्टनले १४ – ० को जित निकालेको थियो ।