एजेन्सी । घरेलु टोली इङ्ल्याण्डले दोस्रो एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा इङ्ल्याण्डले भारतलाई ८६ रनले हराएको हो ।
लण्डनमा घरेलु टोलीले दिएको ३२३ रनको उच्च लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा अलआउट हुँदै २३६ रन मात्र बनाउन सक्यो । भारतको लागि सुरेश रैनाले ४६ तथा कप्तान बिराट कोहलीले ४५ रन बनाए ।
त्यस्तै महेन्द्र सिंह धोनीले ३७ रन जोड्दा शिखर धवनले ३६ रन जोडेका थिए । इङ्ल्याण्डका लियाम प्लुन्केटले ४ विकेट लिदा डेभिड विलि र आदील रशिदले समान २ – २ विकेट लिए ।
यसअघि टस जितेर पही ब्याटिङ गरेको इङ्ल्याण्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३२२ रन जोडेको थियो । इङ्ल्याण्डको लागि जोय रुटले ११३ रनको शतकीय पारी खेले ।
यस्तै कप्तान इयान मोर्गनले ५३ रनको अर्धशतकीय पारी खेल्दा डेभिड विलिले अविजित ५० रन जोडे । भारतका कुलदिप यादबले ३ विकेट लिए ।
यो जितसंगै इङ्ल्याण्डले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा १ – १ को बराबरी गरेको छ । दुई टोलीबीच अन्तिम एकदिवसीय सोमबार हुनेछ । यसअघि पहिलो खेलमा इङ्ल्याण्डलाई भारतले ८ विकेटले हराएको थियो ।