काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान आरिफ शेखलाई भारतीय क्रिकेट खेल सामग्री उत्पादक कम्पनी रेड रक स्पोर्ट्सले प्रायोजन गरेको छ ।
नेपाली राष्ट्रिय टोलीका सदस्य रहिसकेका आरिफले रेड रकसँग शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै आरिफलाई कम्पनीले एक बर्षसम्म खेल सामाग्री उपलब्ध गराउने छ । यस्तै रेड रकले प्रायोजन सम्झौता पछि बढाउने जनाएको छ ।
आरिफ रेड रकबाट प्रायोजन पाउने चौंथो नेपाली खेलाडी हुन् । यसअघि रेड रकले नेपालका युवा खेलाडी भिम सार्कीलाई तीन बर्ष र सोमपाल कामीलाई दुई बर्ष र करण केसीलाई एक बर्षको लागि प्रायोजन गरिसकेको छ ।
यस कम्पनीले विश्वका हस्ती खेलाडी सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी, युवराज सिंह, बिरेन्द्र सेहवाग जस्ता खेलाडीलाई खेल सामाग्री बनाउँदै आएको छ ।
भारतका पुर्व क्रिकेटर मनिष सखालकरको पहलमा आरिफलाई कम्पनीले प्रायोजन गरेको हो । मनिषसँग भारतको रणजी ट्रफी खेलेको अनुभब रहेको छ । हाल उनी नेपालमा व्यवसाय गर्दै आएका छन् ।