एजेन्सी । भारतीय क्रिकेट टिममा कप्तान विराट कोहलीले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
कप्तान कोहलीले इटालियन क्लब युभेन्ट्सका फरवार्ड रोनाल्डो आफ्नो काममा निकै प्रतिवद्ध रहेको र पूर्ण खेलाडी रहेको हुँदा आफ्नो लागि सबैभन्दा माथि रहेको बताए ।
'मेरो लागि रोनाल्डो सबै भन्दा माथि छन्,' फिफा डटकमसँग कुरा गर्दै कोहलीले भने, 'उसको प्रतिबद्धता र नैतिक कार्य असामान्य छ । तपाईले उनको हरेक खेलमा हेर्न सक्नु हुनेछ ।'
कोहलीले अर्जेन्टिनाका लियोनल मेस्सीको भन्दा रोनाल्डोको फुटबल करियर उत्कृष्ट रहेको बताए । कोहलीले रोनाल्डो खेलकुदमा एक लिडर रहेको कारण एक पूर्ण खेलाडी भएको समेत बताए ।
'मेरो बिचारमा रोनाल्डोले थुप्रै संघर्ष गरेका छन् र त्यसमाथि जित हात पारेका छन् । मैले देखेको विश्वका एक पूर्ण फुटबल खेलाडी हुन,' कोहलीले थपे, 'उनी थुप्रै व्यक्तिको प्रेरणा हुन् । उनी एक लिडर हुन र म त्यो मन पराउँछु । उनीसँग आश्चर्य लाग्दो विश्वास रहेको छ ।'
यस्तै कोहलीले फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पे पनि विश्वको उत्कृष्ट खेलाडी रहेको बताए । उनले एमबाप्पेले विश्वकपमा अर्जेन्टिनाविरुद्ध देखाएको खेल आफुले बिर्सन नसक्ने बताए ।