एजेन्सी । घरेलु टोली श्रीलंकाले पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रीकालाई फराकिलो अन्तरले हराएको छ । शनिबार सम्पन्न पहिलो टेष्टन श्रीलंकाले भ्रमणकारी टोलीलाई २७८ रनले हराएको हो ।
गालेमा श्रीलंकाले दिएको ३५३ रनको लक्ष्यसहित दोस्रो पारी थालेको दक्षिण अफ्रीकाले अलआउट हुँदै ७३ रन मात्र बनाउन सक्यो । श्रीलंकाका बलर चम्किएपछि पहिलो टेष्ट तेस्रो दिनमै सकिएको थियो । दक्षिण अफ्रिकाका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सक्यो ।
भेरोन पिलान्धरेले अविजित २२, एडिन मार्क्रमले १९ तथा क्विन्टन डी ककले १० रन जोडे । दक्षिण अफ्रिकाको पारी ध्वस्त बनाउने क्रममा श्रीलंकाका दिलरुवान परेराले मात्र ३२ रन खर्चेर ६ विकेट झारे । यस्तै रंगना हेराथले ३ विकेट लिए ।
यसअघि श्रीलंकाले दोस्रो पारीमा १९० रन जोड्दै दक्षिण अफ्रीकालाई उच्च लक्ष्य दिएको थियो । दोस्रो पारीमा श्रीलंकाका दिमुथ करुनारत्नेले ६० रन जोडेका थिए । यस्तै पहिलो पारीमा श्रीलंकाले २७८ रन जोडेको थियो । पहिलो पारीमा दक्षिण अफ्रिकाले १२६ रन बनाएको थियो ।
यो जितसंगै श्रीलंकाले दुई खेलको टेष्ट सिरिजमा १ – ० ले अग्रता बनाएको छ । दोस्रो टेष्ट जुलाई २० बाट सुरु हुनेछ ।