एजेन्सी । पाकिस्तानका फास्ट बलर वाहब रियाजले टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
रियाजले शुक्रबार १० बर्षे लामो टेष्ट क्रिकेट यात्राबाट सन्यास घोषणा गरेका हुन् । पाकिस्तान क्रिकेट बोर्डका प्रमुख इशान मनिले रियाजले सन्यास लिएको पुस्टि गरे ।
तर, रियाजले क्यानडाबाट फर्किएपछि मात्र औपचारिक रुपमा सन्यास लिने छन् । हाल उनी क्यानडामा ग्लोबल टी ट्वान्टी लिगमा ब्यस्त रहेका छन् ।
३४ बर्षे रियाजले २७ टेष्टमा ८३ विकेट हात पारेका छन् । सन् २०१० इंग्ल्याण्डविरुद्ध टेष्ट क्रिकेटमा डेब्यु गरेका उनले पहिलो खेलको पहिलो इनिङ्समा ५ विकेट हात पारेका थिए ।
रियाजको सन्याससँगै एक हप्ता भित्र पाकिस्तानका भरपर्दा २ फास्ट बलरले सन्यास लिएका छन् । यसअघि मोहमद आमिरले सन्यास घोषणा गरेका थिए ।