एजेन्सी । २ बर्ष, ९ राष्ट्र, २७ सिरिज, ७२ टेष्ट खेल र एक विजेता ! यो हो-विश्व टेष्ट च्याम्पियनसिपको खेल तालिका ।
र, विश्व टेष्ट च्याम्पियनसिपको औपचारिक सुरुवात आजबाट हुँदैछ । जुन दुई बर्ष चल्नेछ ।
च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा बिहिबार अष्ट्रेलिया र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । एसेज टेष्ट सिरिज अन्तर्गतको पहिलो टेष्ट इंग्ल्याण्डको एज्बास्टनमा हुनेछ ।
के हो विश्व टेष्ट च्याम्पियनसिप ?
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गत महिना विश्व टेष्ट च्याम्पियनसिपको औपचारिक घोषणा गरेको थियो ।
सन् २०१९ अगष्ट १ बाट सुरु हुने ९ राष्ट्रबीचको टेष्ट सिरिजलाई आईसीसीले यस प्रतियोगिताको नाम दिएको हो ।
यो च्याम्पियनसिपलाई एकदिवसीय विश्वकप, टी-ट्वान्टी विश्वकप जस्तै टेष्ट विश्वकपको रुपमा हेरिएको छ । सबै भन्दा पुरानो फर्म्याटको क्रिकेटलाई थप उचाइमा पुर्याउने आईसीसीले प्रतियोगितालाई नयाँ ढाँचा दिएको हो ।
यस च्याम्पियनसिपमा टेष्ट मान्यता प्राप्त ९ राष्ट्रले सहभागिता जनाउने छन् । जसमा अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इण्डिज रहेका छन् ।
यी राष्ट्रबीच २ बर्षसम्म २७ सिरिजको ७१ टेष्ट खेल हुनेछ । ९ राष्ट्रले २७ सिरिजमा ३ खेल घरेलु र ३ खेल अवे खेल खेल्ने छन् ।
च्याम्पियनसिप अन्तर्गत सिरिजको हरेक खेल जित्ने र बराबरी खेल्ने टिमले अंक प्राप्त गर्ने छन् । र, अन्तिममा अंक तालिकाको शीर्ष दुई राष्ट्रले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल सन् २०२१ को जुनमा इंग्ल्याण्डमा हुनेछ ।
कसरी टिमको छनोट गरियो ?
सन् २०१९ अगष्ट १ को आईसीसी वरियतामा शीर्ष स्थानमा रहेका ९ टेष्ट राष्ट्रले सहभागिता जनाउने छन् ।
उक्त वरियता अनुसार अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इण्डिज छनोट भएका हुन् ।
कहाँ र कहिले खेलिन्छ ? यो च्याम्पियनसिप ?
यो च्याम्पियनसिप २ बर्षसम्म विभिन्न ९ राष्ट्रमा होम एण्ड अवेको आधारमा खेलिने छ । पहिलेको जस्तै २ राष्ट्रले सिरिज खेल्ने छन् र यस पटक फरक के छ भने खेलको विजेताले अंक प्राप्त गर्ने छन् ।
कसरी खेलिन्छ त च्याम्पियनसिप ?
हरेक टिमले च्याम्पियनसिप अन्तर्गत ३ होम र ३ अवे खेल खेल्ने छन् । दुई राष्ट्रको आपसी समझदारीमा टिमले सिरिज तय गर्न सक्ने छन् । एक सिरिजमा २ देखि ५ खेलको सिरिज राख्न पाउने छन् । यस्तै टेष्ट दिनको वा दिन र रात दुवैको हुनेछ ।
विजेता र बराबरीमा कति अंक पाउने छन् ?
हरेक टिमले ६ सिरिज खेल्ने छन् जसको अंक भार १२० रहेको छ । र, खेलको अंक भने कति खेलको सिरिज हो भन्नेमा निर्भर हुनेछ ।
उदाहरणको लागि, २ खेलको सिरिज भए, विजेताले ६० अंक प्राप्त गर्नेछन् । यस्तै तीन खेलको सिरिज भए हरेक खेलको विजेताले ४० अंक प्राप्त गर्ने छन् ।
यदी खेल 'टाइ' भए दुवै टिमले ५० प्रतिशत अंक प्राप्त गर्ने छन् भने खेल 'ड्र' भएको अवस्थामा भने ३:१ को आधारमा अंक प्राप्त गर्नेछन् ।
के २ बर्षसम्म हुने टेष्ट सिरिज च्याम्पियनसिप अन्तर्गत पर्छन् त ?
च्याम्पियनसिपमा सहभागी ९ राष्ट्रको टेष्ट मात्र च्याम्पियनसिपमा पर्नेछन् ।
टेष्ट मान्यता पाएका तर च्याम्पियनसिपमा नरहेका अफगानिस्तान, जिम्बाबे र आयरल्याण्डले पनि सिरिज खेल्न पाउने छन् । तर, उनीहरुसँगको खेलेको सिरिज भने च्याम्पियनसिप अन्तर्गतको हुने छैन ।