काठमाडौं । प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सकिएको एक महिना बितिसक्दा पनि व्यक्तिगत विधामा उत्कृष्ट बनेका खेलाडीहरुले पुरस्कार पाउन सकेका छैनन् ।
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) संग्लग्न रहेको प्रतियोगिताको विजेता, उपविजेता टोलीले पुरस्कार पाएपनि व्यक्तिगत विधाका खेलाडीहरुले भने पुरस्कार पाएका छैनन् । तोकिएको पुरस्कार पाउन नसकेपछि उत्कृष्ट बनेका खेलाडीहरु गुनासो गर्न थालेको छन् ।
च्याम्पियन टिम नेपाल एपीएफ क्लबका कप्तान समेत रहेकी सिता राना मगरले आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले व्यक्तिगत विधाको पुरस्कार दिन आनाकानी गरिरहेको बताईन् । सिता प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेकी थिईन् ।
'हामीले पाउने सर्वोकृष्ट खेलाडी, उत्कृष्ट बलर, ब्याटिङ, प्लेयर अफ दि म्याच लगायतका खेलाडीको पुरस्कार पाएका छैनौं,' नेपाली राष्ट्रिय टोलीका सदस्य समेत रहेकी सिताले खेलपाटीसँग भनिन्, 'हामीलाई इभेन्ट म्यानेजमेन्ट गरेको आयोजकले प्रायोजकले दिएको छैन भनेर अड्काई राखेको छ ।'
सिताले विजेता र उपविजेताको पुरस्कार भने पाईसकेको बताईन् ।
'विजेता पुरस्कार पाईसकेका छौँ । तर, घोषणा गरेको व्यक्तिगत पुरस्कार पाएका छैनौँ । त्यति धेरै प्रायोजकले किन दिदैन ? हामीलाई त्यसै झुलाईराखेको छ,' सिताले भनिन् ।
कञ्चनपुरमा गत असार ११ गते सम्पन्न प्रतियोगिता सर्वोकृष्ट खेलाडीलाई ३० हजार दिने घोषणा आयोजक सोसाइटीले गरेको थियो । यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई १५/१५ हजार दिने घोषणा गरिएको थियो ।
कञ्चनपुरको कभर्डहल क्रिकेट मैदानमा भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको थियो । उपाधिसंगै एपीएफले ५ लाख नगद प्राप्त गर्दा सुदुरपश्चिमले ३ लाख प्राप्त गरेको थियो ।
यस्तै प्रतियोगितामा सिता सर्वोत्कृष्ट खेलाडी बनेकी थिईन् । त्यस्तै वेष्ट बलर प्रदेश नम्बर ३ की खुसी डंगोल र वेष्ट ब्याट्सवुमन कविता कुँवर घोषित भएकी थिईन् ।