काठमाडौं । श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता एक महिनापछि सुरु हुँदैछ ।
प्रतियोगिताको लागि साविकको विजेता भारतले सोमबार यू-१९ टोलीको घोषणा नै गरिसकेको छ । तर, प्रतियोगिता आउन एक महिना बाँकी रहँदा नेपालले भने बन्द प्रशिक्षण समेत गर्न सकेको छैन ।
मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाल बन्द प्रशिक्षणका लागि एसीसीको अनुमति कुरेर बसेको छ ।
नेपालले एक साता अघि नै क्लोज क्याम्प सुरु गर्नका लागि एसीसीमा पत्र पठाएको थियो । तर, एसीसीले कुनै जवाफ पठाएको छैन ।
'हामी अहिले एसीसीको निर्णय कुर्दै बसेका छौं । अगष्ट ६/७ गतेबाट तयारी गर्नेगरि पत्र पठाएका छौं,' नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले खेलपाटीसँग भने ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघलाई निलम्बन गरेपछि नेपालले आईसीसी र एसीसीको अनुमतिबिना कुनैपनि कार्य गर्न पाउदैन । नेपालले हरेक प्रतियोगिताअघि आईसीसी र एसीसीको अनुमति लिनु पर्छ ।
यस्तै प्रशिक्षक दासले कीर्तिपुरस्थित टियु मैदान प्रशिक्षणका लागि योग्य नरहेको कारण भारतमा तयारी गर्न एसीसीसँग अनुमति मागेको बताए । तर, एसीसीले स्पष्ट जवाफ नदिएको उनको भनाई छ ।
'किर्तिपुरको मैदान खेल्न योग्य नरहेका कारण हामीले छिमेकी राष्ट्रको मैदानमा अभ्यास गर्न भनेका थियौं,' प्रशिक्षक दासले भने, 'तर, लामो समय उता बस्नु पर्ने भएका कारण खर्च बढि हुने एसीसीको जवाफ थियो ।'
टियु मैदानमा अहिले करिब एक फिट लामो घाँस उम्रिएको छ । घाँस काट्ने मेसिन बिग्रिएको कारण मैदानको घाँस काट्न नसकिएको मैदानका कर्मचारीहरुको भनाई छ । जसको कारण नेपाली टोलीको प्रशिक्षण प्रभावित हुने देखिएको छ ।
हालै एसीसी यू–१९ इन्टर्न रिजन खेलेको टिमले एसिया कप खेल्ने भएको कारण लामो समयको बन्द प्रशिक्षण आवश्यक नरहेको एसीसीको आशय रहेको छ ।
सेप्टेम्बर ३ देखि १५ सम्म श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कपमा भारतसँगै नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल यसै महिना मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको हो ।