एजेन्सी । घरेलु टोली श्रीलंकाले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।
कोलम्बोमा आइतबार भएको दोस्रो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले एक खेल अगाबै सिरिज २-० ले जितेको हो ।
प्रेमादासा क्रिकेट स्टेडियममा बंगलादेशले दिएको २३९ रनको लक्ष्य श्रीलंकाले ४४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
श्रीलंकालाई जित दिलाउन अभिस्का फर्नान्डोले ८२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एञ्जेलो म्याथ्युजले अविजित ५२ रनको योगदान दिए । यस्तै कुशल मेन्डिसले अविजित ४१ रन जोड्दा कुशल परेराले ३० रन जोडे ।
बंगलादेशका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३८ रन बनाएको थियो ।
बंगलादेशका लागि मुस्फिकर रहिमले अविजित ९८ रन जोडे । यस्तै हसन मिराजले ४३ रन बनाए । श्रीलंकाका लागि नुवान प्रदीप,इसुरु उडाना र अकिला धनन्जयले २/२ विकेट लिए ।
यसअघि पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ९१ रनले हराएको थियो । अब दुईबीचको अन्तिम तथा तेस्रो खेल बुधबार हुनेछ ।