काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा यू–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासले खराब रणनीतिका कारण नेपाल ग्लोबल छनोट खेल्नबाट बञ्चित भएको बताएका छन् ।
सिंगापुरमा आईतबार भएको विश्वकप छनोट अन्तर्गतको एसिया फाईनलको अन्तिम खेलमा घरेलु टोलीसँग पराजित हुँदै नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएपछि दासले प्रतियोगितामा नेपाली खेलाडीले रणनीति अनुसार प्रदर्शन गर्न सकेको बताए ।
निर्णायक मानिएको खेलमा बलिङ र ब्याटिङ दुवैमा फितलो प्रदर्शन गरेपछि नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको थियो ।
'समग्रमा नेपाली खेलाडीहरुको प्रदर्शनमा खोट लाउनुपर्ने ठाउँ छैन,' खेलपाटीसँग कुरा गर्दै दासले भने, 'मध्यक्रमका खेलाडीहरुले खेलको परिस्थिति अनुसार प्रदर्शन गर्न नसक्नु हारको कारण हो ।'
राम्रो सुरुवातको बाबजुद पनि सिंगापुरले दिएको १ सय ९२ रनको लक्ष्य नेपाली खेलाडीहरुले भेट्न नसक्नुको कारण कमजोर रणनितीनै भएको दासको भनाई छ ।
खेलमा पहिलो ईनिङस बाटै नेपाली खेलाडीहरु दबाबमा रहेको र बलिङमा पनि टिमको योजनाले काम गर्न नसकेको दासले बताए । प्रतियोगितामा नेपालले १०० प्रतिशत दिन नसकेका कारण तुलनात्मक रुपमा आफू भन्दा कमजोर मानिएका टिमले त्यसको फाईदा उठाएको उनले बताए ।
'नेपालले प्रतियोगितामा आफ्नो स्वभाविक खेल खेलेन । आफू १०० प्रतिशत छैनौँ भन्ने जान्दाजान्दै पनि विपक्षीलाई कमजोर ठानेर अस्वभाविक खेल खेल्दा नेपालले पराजय व्यहोर्नु पर्यो,' दासले भने ।
सिंगापुर पनि कमजोर टोली नभएका कारण बलिङ र ब्याटिङ दुवैमा नेपालले उच्च स्तरको क्रिकेट खेल्नुपर्ने आवश्यकता भएको तर त्यो हुन सकेन दासको भनाई थियो ।
नेपालमा टी-ट्वान्टी फर्म्याटका धेरै प्रतियोगिताले पनि उच्च स्तरको खेलाडी दिन नसकेको र नयाँ खेलाडीले आफुलाई प्रमाणित गर्न नसक्नु पनि टिमको कमजोरी भएको दासले बताए ।
छनोटमा खराब सुरुवात गरेको नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो । उक्त हारले नेपाल दबाबमा थियो । पहिलो खेलमा कतारले नेपाललाई ४ विकेटले हराएको थियो ।
त्यसपछिका खेलमा नेपालले मलेसिया र कुवेतलाई पराजित गरेको थियो । नेपाललाई हराएको सिंगापुरले पहिलो पटक विश्वकप छनोटको ग्लोबल छनोटमा स्थान बनाएको छ ।