काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग पराजित भएको छ ।
आइतबार भएको निकै महत्वपूर्ण खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ ।
सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।
उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो ।
त्यसपछि नेपालको इनिङ्स धरासायी बनेको थियो । पारस र ज्ञानेन्द्रपछि नेपालका दिपेन्द्र सिंह ऐरीले २३ तथा सोमपाल कामीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न सिंगापुरका सिलाडोरे विजयकुमारले २५ रन खर्चेर ४ विकेट लिए । यस्तै भिनोद भास्करणले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । खराब सुरुवात गरेपनि रोहन रंगराजन र टिम डाभिडले सिंगापुरको इनिङ्स उकासेका थिए । मात्र १० रन जोड्दा पहिलो विकेट गुमाएको सिंगापुरका लागि रोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।
सिंगापुरको उच्च स्कोरमा टिमले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोहनले ४९ रन जोड्दा मनप्रित सिंहले ४२ रन जोडे ।
नेपालका अविनास बोहराले ४ विकेट लिए । करण केसीले २ विकेट लिए । नेपालका बसन्त रेग्मी महंगा साबित भए । उनले ४ ओभरमा ५४ रन खर्चेर विकेट लिन सकेनन् । यस्तै सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन खर्चिए ।
सिंगापुरसँगको हारसँगै नेपालले तेस्रो स्थानमा रहेर प्रतियोगिता सकाएको छ । ४ खेलमा २ हार व्यहोरेको नेपालले ७ अंक जोड्यो । नेपाल यसअघि पहिलो खेलमा कतारसँग पराजित भएको थियो ।
सिंगापुर भने अपराजित रह्यो । ४ खेलमा ३ जित निकालेको सिंगापुरले ७ अंक जोड्यो । सिंगापुरले बर्षाको कारण एक खेलमा अंक बाडेको थियो ।
अब सिंगापुरले युएईमा आयोजना ग्लोबल छनोट खेल्नेछ । सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुगेको हो । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म । युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगिसकेको छ ।