काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा सिंगापुरले सुरुमा ब्याटिङ गर्ने भएको छ ।
सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । अब नेपालले सुरुमा फिल्डिङ गर्नेछ ।
विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवैका लागि अन्तिम खेल महत्वपुर्ण छ । नेपाल र सिंगापुर अन्तिम खेलमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छन् ।
अघिल्लो चरण पुग्न नेपाललाई जितको विकल्प छैन । प्रतियोगिताको एक मात्र अपराजित टोली सिंगापुर समेत नेपाललाई निराश बनाउँदै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छ ।
खेल बराबरी वा बर्षाले प्रभावित भएको अवस्थामा सिंगापुर अघिल्लो चरण प्रवेश गर्नेछ ।
नेपाल समुह चरणको दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ४ अंक जोडेको छ । शीर्ष स्थानको सिंगापुरको समान खेलबाट ५ अंक छ । कुवेतविरुद्व खेल बर्षाले प्रभावित भएपछि सिंगापुरले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा कतारसंग अप्रत्यासित हार ब्यहोरेको थियो ।
हालसम्म नेपाल र सिङ्गापुर ९ पटक भिडेका छन् । जसमा तीन खेल तीन दिवसीय, दुई टी–ट्वान्टी र चार एक दिवसीय खेल रहेको छन् । नेपालमाथि सिंगापुरले कुनै खेलमा पनि जित निकाल्न सकेको छैन ।