काठमाडौं । ग्लोबल छनोटका लक्ष्य सहित नेपाल र सिंगापुरबीच आज (आईतबार) प्रतिस्पर्धा हुदैछ ।
अघिल्लो चरण पुग्न दुवै टिमलाई जितको बिकल्प छैन । तर बराबरीको नतिजा वा बर्षाले खेल प्रभावित भएर अंक बाँड्न परेमा नेपालको विश्वकप छनोटको यात्रा सिंगापुरमै सकिन सक्छ ।
तर ईतिहासले सिंगापुरविरुद्व नेपालनै हाबी भएको तथ्य बोल्छ ।
हालसम्म नेपाल र सिङ्गापुर ९ पटक भिडेका छन् । जसमा ३ खेल तीन दिवसीय, २ टी-ट्वान्टी र ४ एक दिवसीय खेल रहेका छन् ।
नेपालमाथि सिंगापुरले कुनै खेलमा पनि जित निकाल्न सकेको छैन ।
पहिलो पटक सन् २००४ को एसीसी फास्ट ट्र्याक कन्ट्री प्रतियोगितामा तीन दिवसीय खेलमा भएको थियो ।
नेपालले पहिलो पालीमा २ सय ६० र दोस्रो पालीमा २ सय ३ रन बनाएको थियो । सिंगापुरले पहिलो पालीमा २ सय २७ र दोस्रो पालीमा विना कुनै विकेट ८७ रन बनाउँदा खेल बराबरी भएको थियो ।
सन् २००५ को सोही प्रतियोगितामा समेत दुई राष्ट्रले बराबरी खेलेका थिए । नेपालले दुई इनिङसमा दिएको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले अन्तिम दिन सम्म न लक्ष्य पूरा गर्यो न नेपालले अल आउट पार्यो ।
सन् २००६ को सोही प्रतियोगितामा भने नेपालले जित हात पारेकाे थियाे । पहिलो पालीमा ९ विकेट गुमाएर ३ सय १३ बनाएको नेपालले दोस्रो पालीमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएकाे थियो । सिंगापुर पहिलो पालीमा ९० तथा दोस्रो पालीमा १ सय ९६ मा अलआउट हुँदा नेपाल २ सय ५ रनले विजयी भएको थियो ।
सन् २००९ को एसीसी टी ट्वान्टी कपमा सिंगापुरले दिएको ९० रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गरेका थियाे ।
सन् २०१० को डिभिजन ५ मा नेपालले सिंगापुर लाई १६ रनले पराजित गरेकाे थियाे । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछयाएको सिंगापुर ४७ ओभर ५ बलमा १ सय ६४ रनमा समेटियो ।
सन् २०१२ को डिभिजन ४ मा नेपालले ५ विकेटले विजयी भएको थियो । सिंगापुरले दिएको १ सय १२ रनको सामान्य लक्ष्य नेपालले २४ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गरेकाे थियाे ।
सन् २०१४ को एसियन गेम्समा नेपालले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याएको सिंगापुर २१ ओभर ४ बलमा मात्र ७३ रनमा समेटिएकाे थियो ।
र नेपाल १ सय ९० रनले विजयी बनेकाे थियो ।
सन् २०१८ को एसिया कप छनोटमा नेपलले सिंगापुरले ४ विकेटले जित हात पारेकाे थियाे । सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
अन्तिम पटक नेपाल र सिंगापुर टी-ट्वान्टी विश्वकप एसिया पूर्वी क्षेत्रिय छनोटमा भेट भएको थियो ।
अन्तिम खेलमा सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलमा १ विकेट गुमाएर १ रन बनाउँदा पानीले खेल प्रभावित भएको थियो ।
नेपाल समुह चरणको दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ४ अंक जोडेको छ ।
शीर्ष स्थानको सिंगापुरको समान खेलबाट ५ अंक छ ।