काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलमा कुवेतविरुद्वको खेलमा नेपालले सुरुमा फिल्डिङ गर्ने भएको छ ।
सिंगापुरको ईन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
एसिया फाइनलको तेस्रो खेलमा नेपालले आजले कुवेतविरुद्ध प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालको लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । किनकी विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी दुई खेलमा स्पष्ट जितको आवश्यकता रहेको छ ।
पहिलो खेलमा अप्रत्यासित रुपमा कतारसँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । त्यसैले छनोटको शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्न नेपाललाई दुई खेल नै महत्वपूर्ण रहेको छ ।
छनोटको २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेको छ । कुवेत ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । कुवेतलाई हराए नेपाल दोस्रो स्थानमा उक्लने छ ।
र, ग्लोबल छनोटको सम्भावना कायम राख्नेछ । ३ खेलमा ५ अंक जोडेको सिंगापुर शीर्ष स्थानमा छ । कुवेतसँग पराजित भएमा नेपालको ग्लोबल छनोट सकिनेछ ।
कुवेतसँगको खेलमा कप्तान पारस खड्का मैदान उत्रिएका छन् । कतारसँगको खेलमा चोट बोकेका कप्तान पारसले मलेसियाविरुद्धको खेल गुमाएका थिए ।
नेपाल र कुवेतले अहिलेसम्म ९ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा ६ एकदिवसीय र ३ टी-ट्वान्टी रहेको छ । नेपालले एकदिवसीयमा ५ खेलमा जित निकालेको छ भने १ खेल कुवेतले जितेको छ । यस्तै टी-ट्वान्टीमा नेपाल पूर्ण रुपमा हाबी रहेको छ ।