एजेन्सी । स्टार बलर लासिथ मालिंगाको विदाई खेलमा श्रीलंकाले शुक्रबार बंगलादेशलाई पराजित गरेको छ ।
मालिंगाको विदाई खेलको रुपमा रहेको पहिलो एकदिवसीयमा श्रीलंकाले बंगलादेशलाई ९१ रनले हराएको हो ।
कोलम्बोमा श्रीलंकाले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४१ ओभर ४ बलमा अलआउट हुँदै २२३ रनमा समेटियो ।
बंगलादेशको लागि मुस्फिकर रहिमले ६७ तथा सब्बीर रहमानले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
बंगलादेशलाई सस्तैमा समेट्न अन्तिम एकदिवसीय खेल खेलिरहेका मालिंगा र नुवान प्रदीपले ३/३ विकेट लिए । यस्तै धनन्जय सिल्भाले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर ३१४ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल परेराले १११ रनको शतकीय इनिङ्स खेले । यस्तै एञ्जेलो म्याथ्युजले ४८ तथा कुशल मेन्डिसले ४३ रन बनाए ।
बंगलादेशका सैफुल इस्लामले ३ तथा मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
बंगलादेशसँगको यस खेलसँगै मालिंगाले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
३६ वर्षे मालिंगाले श्रीलंकाबाट २२६ एकदिवसीय खेल खेल्दै ३३८ विकेट लिए । मालिंगा एकदिवसीय क्रिकेटमा श्रीलंकाका लागि सर्वाधिक विकेट लिने तेस्रो खेलाडी हुन् ।
अन्तिम खेलअघि श्रीलंकाका खेलाडीले मालिंगालाई गार्ड अफ अनर दिएका थिए ।
यस्तै घरेलु टिम श्रीलंकाले बंगलादेशविरुद्धको ३ खेलको एकदिवसीय सिरिजमा १-० ले अग्रता बनाएको छ ।