काठमाडौं । आयोजक सिंगापुरले घरेलु मैदानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै सिंगापुरले दोस्रो जित निकालेको हो ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दिएको ९३ रनको लक्ष्य सिंगापुरले १३ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
सिंगापुरको जितमा सुरेन्द्रन चन्द्रमोहनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मनप्रित सिंहले अविजित २६ रन जोडे । टिम डेभिडले १४ रन बनाए ।
मलेसियाका नेभिली क्रिस्ती कुमाराले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १८ ओभर ४ बलमा अलआउट हुँदै ९२ रन बनाएको थियो ।
मलेसियाको लागि मुहमद साहदादले २२ रन जोडे । यस्तै भिरनदिप सिंहले १७ रन जोड्दा साफीक सरिफ र अमुदीन रामलीले १२/१२ रन जोडे ।
सिंगापुरले अम्जाद महबुब र अन्नाथा कृष्णले समान ३/३ विकेट लिए ।
जितसँगै सिंगापुरले ३ खेलबाट ५ अंक जोडेको छ । सिंगापुर शीर्ष स्थानमा छ । मलेसियाको २ अंक रहेको छ ।
सिंगापुरले मलेसियालाई हराएसँगै अब नेपालले ग्लोबल छनोटमा स्थान बनाउन लगातार दुई खेल जित्नु पर्ने भएको छ । चौंथो स्थानको नेपालको २ अंक रहेको छ ।