काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा कुवेतले पहिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा कतारलाई १० रनले पराजित गर्दै कुवेतले पहिलो जित निकालेको हो ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १९८ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।
कतारको लागि कप्तान तमुर साजादले अविजित ४६ तथा नुमन सर्वारले अविजित ३४ रन बनाए । यस्तै इनाम उल हकले २८ रन जोड्दा फैसल जाभेदले २४ रन बनाए ।
कुवेतका सिराज खान र जन्दु हामुदले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनाएको थियो ।
कुवेतका लागि आदनन इड्रेसले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान मुहमद कासिफले ४३ रन जोड्दा मिट भाबसरले ३५ तथा उस्मान वाहिदले अविजित २८ रन बनाए ।
कतारका इकबाल हुसेन र नुमन सर्वारले २/२ विकेट लिए ।
जितसँगै कुवेतले ३ खेलबाट ३ अंक जोडेको छ । कुवेत दोस्रो स्थानमा छ ।
कुवेतको यो जितले नेपाललाई भने फाइदा पुगेको छ ।
कतारको यो दोस्रो हार हो । कतारले ३ खेलमा २ अंक जोडेको छ ।