काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स ग्लोबल टी–ट्वान्टी क्रिकेटमा पराजित भएको छ । बिहिबार राति भएको पहिलो खेलमा टोरन्टो भ्यान्कोभर नाईट्ससंग ८ विकेटले हारेको हो ।
विश्वकप छनोटको एसिया फाईनल खेलिरहेका सन्दीप पहिलो खेलमा सहभागी हुन भने पाएनन् । ग्लोबल टी–ट्वान्टीमा नेपालबाट सोमपाल कामी समेत परेका छन् ।
१ सय ६० रनको लक्ष्य पछ्याएको भ्यान्कोभरले १६ बल अगावै २ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो ।
चाडविक वाल्टन र रस्सी भान डेर डुसनले नटआउट अर्धसतकिय ईनिङ्स खेल्दै टोलीलाई जित दिलाए । वाल्टनले ५९ र डुसनले ६५ रनको योगदान गरे । ओपनर क्रिस गेल १२ रनमा आउट भएका थिए । टोयिबास भिस २० रनमा पोविलियन फर्किए ।
यसअघि पहिले ब्याटिङ गरेको टोरन्टोले ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । रोड्रिगो थोमस र हेनरिक क्लासेनले समान ४१ रन बनाएको ईनिङ्समा किरोन पोलार्डले अविजित ३० रन बनाए ।
प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै भ्यान्कोभरले २ अंक जोडेको छ । सन्दीप सम्मिलित टोली टोरन्टो अंक विहिन छ ।
आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय टिमसंग सिंगापुरमा रहेका कारण सन्दीपले २ खेल गुमाउने छन् ।
पहिलो संस्करणमा सन्दीपले मोण्टेरिएल टाइगर्सबाट खेलेका थिए । यस पटक भने टोरन्टोले सन्दीपलाई ६० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको हो ।