काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले राज्यका जिम्मेवार निकायले महिला क्रिकेटलाई सधै बिर्सने गरेको गुनासो गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बिचार राख्दै कप्तान क्षेत्रीले अनेकौ समस्या र अभावकाबीच महिला क्रिकेटरले समेत अन्तराष्ट्रिय क्रिकेटमा नतिजा ल्याएको भन्दै आफुहरु समेत सम्मानको हकदार रहेको बताईन् ।
युवा तथा खेलकुद मन्त्रालयले बुधबार अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको थियो । मन्त्रालयले नेत्रहिन महिला क्रिकेट, साफको उपविजेता टिमलाई नगद सहित सम्मान गरेको थियो ।
तर गत बर्ष विश्वकप छनोट र टी–ट्वान्टी स्मासमा उपविजेता बनेको महिला क्रिकेट टिमलाई सरकारले कुनै निर्णय गरेन । सरकारको सोही निर्णयमा कप्तान रुबिनाले असन्तुष्टि जनाएकी हुन् ।
सबैले आफ्नो हकको सम्मान पाउँदा महिला क्रिकेटरको दुखबारे राज्य बेखबर बनेको उनको गुनासो छ ।
कसलाई सोधौ यो प्रश्न, कसलाई भनौ कि हामीलाई धेरै दुख छ । हामीलाई नि जिउने बाटो दिनुस । बाच्ने आधार दिनुस । १२ बर्षको जिन्दगी हामीले समेत खेललाई दिएका छौ । रुबिनाले भनेकी छिन् ।
उनले महिला क्रिकेटर राज्यबाट अपहेलित हुदाँ साना खेलाडीलाई कसरी क्रिकेटमा लाग्न प्रेरित गर्ने भनेर प्रश्न गरेकी छिन् ।
उनले महिला क्रिकेटरले धेरै पिडा र दुख सहेको बताउँदै महिला क्रिकेट नाममा मात्र सिमित नहोस भनेर सम्बन्धित निकायलाई सचेत गराएकी छिन् ।