काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका ८४ रनको लक्ष्य दिएको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनायो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको हो ।
मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे । यस्तै भिरनदिप सिंहले २१ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १/१ विकेट लिए ।
मलेसियाविरुद्ध नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको छ । कप्तान पारस खड्काले कतारविरुद्वको खेलमा चोट बोकेपछि ज्ञानेन्द्रले कप्तानी गरिरहेको हो ।
विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न नेपाललाई यस खेल निकै महत्वपूर्ण रहेको छ ।
यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल कमजोर मानिएको कतारसंग ४ विकेटले पराजित भएको थियो ।
मलेसियाले पहिलो खेलमा कुवेतलाई पराजित गर्दै शुखद सुरुवात गरिसकेको छ ।