काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा अहिले नेपालले मलेसियाविरुद्व प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डीङ रोजेको छ । वर्षाले प्रभावित बनेको खेल ९ ओभरको हुनेछ । वर्षाको कारण झन्डै ३ घण्टा ढिला सुरु हुँदा खेल ९ ओभरमा छोट्टाईएको हो ।
तर, मलेसियाविरुद्ध नेपाली टिमका कप्तान पारस खड्का नखेल्ने भएका छन् । उनले कतारविरुद्वको खेलमा चोट बोकेका थिए ।
नेपाली टोलीको कप्तानी उपकप्तान ज्ञानेन्द्र मल्लले गरिरहेका छन् । यस्तै मलेसियाविरुद्ध नेपाली टोलीमा रोहित कुमार पौडेल र प्रदीप ऐरी अटाएका छन् । पारससँगै ललित नारायण राजवंशी टिममा छैनन् ।
नेपाल र मलेसियाले प्रतियोगितामा एक एक खेल खेलेका छन् । मलेसियाले पहिलो खेलमा कुवेतलाई पराजित गर्दै शुखद सुरुवात गरेको थियो । नेपाल भने कमजोर मानिएको कतारसंग ४ विकेटले पराजित भएको थियो ।
हालसम्म टी–ट्वान्टीमा नेपाल र मलेसियाबीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी देखिन्छ । नेपालले ५ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।