एजेन्सी । श्रीलंकाका स्टार बलर लासिथ मालिंगाले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् ।
३६ वर्षे मालिंगाले बंगलादेशविरुद्धको सिरिजको पहिलो खेलपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने भएका हुन् ।
श्रीलंका र बंगलादेशको पहिलो एकदिवसीय खेल जुलाई २६ मा कोलम्बोमा हुनेछ ।
श्रीलंका क्रिकेटका टिमका कप्तान दिमुथ करुनारत्नेले बंगालदेशसँगको पहिलो खेलपछि मालिंगाले एकदिवसीय अन्तराष्ट्रिय खेलबाट सन्यास लिन बताए ।
'पहिलो खेल खेल्दै सन्यास लिने कुरा मलाई उनले (मालिंगा) भनेका थिए,' करुनारत्नेले भने, 'छनोट समितिलाई उनले के भने त्यो त थाहा छैन तर मलाई एक खेल मात्र खेल्न बताएका छन् ।'
गत हप्ता इंग्ल्याण्डमा सकिएको १२ औं संस्करणको एकदिवसीय विश्वकपमा मालिंगा श्रीलंकाका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपनि श्रीलंका सेमिफाइनल पुग्न सकेन् ।
मालिंगाले एकदिवसीय क्रिकेटमा श्रीलंकाका लागि सर्वाधिक विकेट लिने तेस्रो खेलाडी हुन् ।
पछिल्लो समय लयबाहिर रहेका मालिंगा चोटसँग संघर्ष गर्दै आएका छन् । उनले विश्वकप अघि दक्षिण अफ्रिका भ्रमणमा श्रीलंकाको एकदिवसीय र टी-ट्वान्टी सिरिजमा कप्तानी गरेका थिए ।