काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपाल कतारसँग पराजित भयो ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा नेपाल कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित भएको थियो ।
कमजोर प्रतिद्वन्दीको रुपमा हेरिएको कतारसँग पराजित भएसँगै नेपाली टोलीको आलोचना समेत भएको छ ।
नेपाली टोली के कारणले पराजित भयो ? अहिले हारको कारण खोज्न थालिएको छ ।
नेपाल कतारसँग पराजित हुनुको मुख्य कारणहरु यस प्रकार रहेको छ ।
१. टस जितेर ब्याटिङ रोज्नु
नेपाली क्रिकेटको ब्याटिङ सधै कमजोर रहदै आएको छ । तर, कतारविरुद्ध नेपालले टस जितेर पनि ब्याटिङ रोजेको थियो । जुन नेपालको गल्ति भयो ।
कतारविरुद्ध ६ बलरको साथमा मैदान उत्रिएको नेपालले पहिले ब्याटिङ गर्नु गलत देखिएको थियो ।
२. खराब ब्याटिङ
नेपालको हारको अर्को मुख्य कारण खराब ब्याटिङ पनि हो ।पहिलो विकेटको लागि नेपालले कीर्तिमानी साझेदारी गरेपनि पछिल्ला क्रमका ब्याट्सम्यानले उच्च रन जोड्न सकेनन् ।
ओपनिङमा आएका कप्तान पारस खड्का २८ र उपकप्तान ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भए । त्यसपछि नेपालको इनिङ्स धर्मराएको थियो । पछि दिपेन्द्र सिंह ऐरीले ३४ रन जोड्दै टिमको इनिङ्स उकास्न खोजेपनि नेपालले उच्च स्कोर जोड्न सकेनन् ।
यस्तै नेपालका सोमपाल कामीले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
२. अनुभवी खेलाडी ओपनिङमा जानु
नेपालले टी-ट्वान्टी अन्तराष्ट्रियमा ओपनिङ साझेदारीको कीर्तिमान बनाएको छ । तर, टिमका अनुभवी तथा भरपर्दा ब्याट्सम्यान ओपनरको रुपमा मैदान उत्रदा पछिल्लो क्रमका ब्याट्सम्यानले सम्हालिएर खेल्न सकेनन् ।
कप्तान पारस र ज्ञानेन्द्रले कतारविरुद्ध पहिलो विकेटका लागि बनाएको ४९ रनको साझेदारी टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालको ओपनिङ जोडीले बनाएको उच्च स्कोर हो । यसअघि सुवास खकुरेल र सागर पुनले सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध ३६ रनको सर्वाधिक साझेदारी गरेका थिए ।
३.कप्तान पारसको चोट
कतारविरुद्ध ओपनिङ ब्याटिङ गरेका कप्तान पारस खड्काले पहिलो इनिङ्समै चोट बोकेका थिए । ब्याटिङ गर्ने क्रममा उनको ढाड सड्किएको थियो । तर, मैदान नछाडेका कप्तान पारसले १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोडेर आउट भए ।
पहिलो विकेटको रुपमा आउट भएपछि फिजियोसँग प्राथमिक उपचार गरेपनि कप्तान पारस दोस्रो इनिङ्स (फिल्डिङ) मा मैदान उत्रन सकेनन् । जसको कारण मैदानमा नेपाली टिमलाई नेतृत्वको खाँचो देखिएको थियो ।
पहिलो खेलमा घाइते भएपछि कप्तान पारस मलेसियासँगको खेलमा खेल्ने नखेल्ने दुविधा रहेको छ ।